तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी नाकाबाट एक वर्षमा ३२ करोड बढीको सिमेन्ट निर्यात

भद्रपुर, झापा । देशको पूर्वी नाका काँकरभिट्टा नाका भएर नेपाली सिमेन्ट भारत निर्यात हुन थालेको छ ।

यसैक्रममा, काँकरभिट्टा नाकाबाट आर्थिक वर्ष २०८०/०८१ मा ३२ करोड रुपैयाँभन्दा बढीको नेपाली सिमेन्ट उद्योगले उत्पादन गरेका विभिन्न ब्राण्डका सिमेन्ट भारततर्फ निर्यात भएको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टा सूचना अधिकारी गणपति कँडेलका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ३२ करोड ६६ लाख पाँच हजार सात रुपैयाँ मूल्य बराबरको ४९ हजार ९५९ टन सिमेन्ट निर्यात भएको छ ।

नेपालमा उत्पादित सिमेन्टको गुणस्तर राम्रो भएका कारण भारतमा यसको माग सन्तोषजनक रहेको उद्योगीहरूको भनाइ छ । अहिले नेपालमै कच्चा पदार्थ क्लिंकर पाइने भएकाले निर्यात बढ्दै गएको भन्सार अधिकारीहरूको भनाइ छ । सरकारले सिमेन्ट निर्यात बढाउन आठ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ ।

भारतमा नेपाली ब्रान्डको सिमेन्टको माग भए पनि झापामा उत्पादित सिमेन्ट भने निर्यात नभएको उद्योगी अजय साहेवालाले बताउनु भएको छ । उहाँका अनुसार काँकरभिट्टा नाकाबाट तानसेन, अर्घाखाँची, बालाजी, सर्वोत्तम र सिजी सिमेन्ट भारतमा निर्यात भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button