तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा चाडपर्वलक्षित बजार अनुगमन, दुई वटा होटललाई जरिवाना

मकवानपुर । हेटौँडामा चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ ।

हेटौँडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु उद्योग वाणिज्य कार्यालय र उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त बजार अनुगमन सुरु गरेको हो ।

अनुगमनका क्रममा दुई वटा होटललाई जनही २५ हजार जरिवाना गरिएको छ । हेटौँडामा वर्षौँदेखि सञ्चालनमा आएको हेटौँडा–४, पारिजातपथस्थित दाजुभाइ फाष्टफुडलाई संयुक्त बजार अनुगमनको क्रममा उपमहानगरपालिकाले २५ हजार जरिवाना गराएको छ ।

चितवनको शाखाको रुपमा रहेको पारिजातपथकै वैष्णव होटललाई पनि २५ हजार नै जरिवाना गराइएको छ । यी दुई होटललाई सात दिनभित्र उपमहानगरपालिका कार्यालयमा जरिवाना तिर्न पत्र काटिएको छ ।

दाजुभाइ फाष्टफुडमा भान्सा फोहोर भएको, म म बनाउन ल्याइएको बन्दा कुहिएको अवस्थामा अव्यवस्थितसँग राखिएको लगायतको कमजोरी फेला परेको थियो ।

यस्तै, दाजुभाइको खोपेगल्लीमा रहेको मिठाईको भान्सामा फोहोरको ढल निकास नगरी नजिकै मिठाई बनाइरहेको अनुगमन टोलीले फेला पारेको थियो । अनुगमन टोलीले भान्सा सुधार गर्न निर्देशन दिइएको छ ।

यसैगरी, वैष्णव होटलले कालो ढुसी परेको पाउरोटी बिक्रीका लागि राखेको अनुगमन टोलीले फेला पारेको थियो । वैष्णवमा भान्सा सरसफाई नगरिएको, उद्योग वाणिज्य कार्यालयमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, बिक्रीका लागि राखिएका खाद्यवस्तुको लेबलिङ उपयुक्त तरिकाले नराखेको भेटिएको थियो । वैष्णव होटलले चितवनबाटै मोमलगायतका तयारी खाद्यवस्तु हेटौँडा ल्याएर बिक्री गर्ने खुलेको छ । पारिजातपथमै अनमोल होटलको भर्खरै सञ्चालनमा आएको भनिएको नयाँ होटललाई सचेत गराइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button