तपाईँ सुन्दै हुनुहुन्छः

चक्लाबन्दी विधिबाट सुन्तला र ओखर खेती

गुल्मी । गुल्मीमा सामूहिक रुपमा चक्लाबन्दी विधिबाट सुन्तला र ओखर खेती सुरु गरिएको छ । बाँझिएका जग्गामा राज्यको सहयोगमा स्थानीयले ओखर र सुन्तला खेती सुरु गरेका हुन ।

मालिका गाउँपालिका ५ छाप हिलेमा स्थानीय चार जनाले एक सय २० रोपनी जग्गामा ५०० वटा ओखरका बिरुवा लगाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन इकाई गुल्मीको ५० प्रतिशत सहयोगमा १४ लाख रकम खर्चिएर वर्षौं देखि बँझिएको जग्गामा ओखर लगाइएको हो । अन्य बाली भन्दा तुलनात्मक रुपमा फाइदा हुने र बाँदरले कम क्षेती पुराउने हुँदा ओखर खेती सुरु गरिएको किसान गोपाल महतारा बताउनुहुन्छ ।

त्यस्तै यता जिल्लाको सत्यवती गाउँपालिका ८ भार्सेमा त्रिपक्ष लगानीमा सुन्तला खेती सुरु गरिएको छ । परियोजना कार्यान्वयन इकाई गुल्मीको ५० प्रतिशत ,सत्यवती गाउँपालिका र १३ जना किसानको २५ र २५ प्रतिशत १८ लाख पचास हजार लगानीमा दुई सय रोपनी क्षेत्रफलमा तीन हजार चार सय सुन्तलाका बिरुवा लगाइएको छ ।  

२० वर्ष अघि देखि यस क्षेत्रमा सामान्य रुपमा सुन्तला खेती गर्दै आएपनी पछिल्लो समय सरकारले दिएको सहयोगका कारण  उत्साहका साथ काम गर्ने वातावरण मिलेको स्थानीय शान्तिमाया बुढाथोकी बताउनुहुन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गुल्मीका प्राविधिक विष्णु पोखरेलले चक्लाबन्दी विधिबाट खेती गर्दा लागत कम उत्पादन बढी हुने बताउनुभयो । उत्पादन बढी हुने हुँदा यस तर्फ जिल्लामा कृषकको आकर्षण बढ्न थालेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button