तपाईँ सुन्दै हुनुहुन्छः

देशमा देखिएका समस्या समाधान गर्न दुई प्रतिस्पर्धी पार्टी एक ठाउँमा आयौँ : पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देश विकासका लागि देखिएका समस्या समाधान गर्न दुई प्रतिस्पर्धी पार्टी एक ठाउँमा उभिनुपरेको बताउनुभएको छ ।  

आज यहाँ आयोजित नेपाल पर्वतारोहण सङ्घको ३४औँ वार्षिकोत्सव समारोहमा उहाँले देशमा देखिएका समस्या समाधान र चुनौतीको सामना गर्न नेपाली का‌ँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) एक ठाउँमा उभिन तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी एकताबद्ध भएर सबै प्रकारका समस्या समाधान गर्न चाहन्छौँ । यसमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपालगायत सबैलाई जोडेर काम गर्न चाहन्छौँ । दुई पार्टीको मनोमानी कायम गर्नका लागि गठबन्धन बनेको होइन ।”

अहिले द्वन्द्व र एकअर्काको खुट्टा तान्ने समय नभएको उल्लेख गर्नुहुँदै मन्त्री पाण्डेले सबै मिलेर देशलाई बनाउने बेला भएको धारणा राख्नुभयो । “देश बनेपछि राजनीतिक प्रतिस्पर्धा गरौँला । त्यसैले कम्तीमा विसं २०८४ सम्म नेपाललाई एउटा गतिमा अघि बढाउने गरी सहकार्य गरौँ । त्यसपछि स्थिर शासन, स्थिर अर्थतन्त्रसहित स्वच्छ प्रतिस्पर्धासहित अगाडि बढ्नु त छँदैछ”, उहाँको जिकिर थियो । 

आउँदो संसद् अधिवेशनमा पर्यटन र नागरिक उड्डयनसँग सम्बन्धित ऐन बन्ने र यसले पर्यटन क्षेत्र थप चलायमान हुने मन्त्री पाण्डेले आशा व्यक्त गर्नुभयो । उहाँले संस्कृति, पर्यटन र उड्डयन नीतिमा आवश्यक परिमार्जन र नेपाल वायुसेवा निगमलाई सक्षम बनाउँदै हवाई क्षेत्र सुरक्षित राख्ने विषयमा आफ्नो ध्यान रहेको बताउनुभयो ।  

कार्यक्रममा पूर्वपर्यटनमन्त्री भीम आचार्यले दश वर्षमा एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले ठूला विमानस्थल सञ्चालन र नेपाल वायुसेवा निगमलाई सक्षम बनाउन ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

पूर्वपर्यटनमन्त्री बलबहादुर केसीले पर्यटन नीति स्पष्ट र समयसापेक्ष हुनुपर्नेमा जोड दिनुभयो । पर्यटन क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न जरुरी रहेकाले त्यसतर्फ केन्द्रित हुन पर्यटन व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button