तपाईँ सुन्दै हुनुहुन्छः

बाग्मती प्रदेश प्रमुखद्वारा संविधान दिवसको शुभकामना 

मकवानपुर । संविधान दिवसको अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश दिनु भएको छ ।

संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवसको अवसरमा प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देश दिँदै संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरूले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान रहेको औँल्याउनु भएको छ । 

जनताका प्रतिनिधिहरूले संविधान सभामार्फत संविधान निर्माण गरी जारी भएको आज ९ बर्ष पूरा भएको छ । “यस सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाई,साथै शुभकामना व्यक्त गर्दछु” प्रदेश प्रमुखद्वारा जारी सन्देशमा भनिएको छ । 

यो सुनौलो बिहानी ल्याउन योगदान गर्नुहुने इतिहासको विभिन्न कालखण्डका शहीदहरूप्रति उहाँले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । नेपाली जनताको सङ्घर्ष र बलिदानको स्वरूप विसं २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै आएको छ ।

“केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको संविधान जारी भएको उत्सवको दिन हो आज” प्रमुखको सन्देशमा भनिएको छ।

यो ९ वर्षको अन्तरालमा लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरू सम्पादन भएका र यसले संविधानमा मूलभूत लोकतान्त्रिक मूल्य मान्यता समेटिएका सन्देशमा उल्लेख छ ।

साथै सकारात्मक कामको पहलमा सबैको ऐक्यबद्धता आवश्यक रहने पनि उहाँले बताउनु भएको छ । संविधानमा लिपिबद्ध हक अधिकार कार्यान्वयनका लागि सरोकारवाल सबैले आ आफ्नो स्थानबाट पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा प्रदेश प्रमुख देवकोटाले आमनागरिकमा अनुरोध समेत गर्नुभएको छ । 

संविधान कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य मान्यता र प्रणालीलाई राष्ट्रिय जीवन पद्धति बनाउन संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ ले सबैमा नयाँ उत्साह प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button