तपाईँ सुन्दै हुनुहुन्छः

कालोपत्रे सडकले बद्लिँदो गाउँको परिवेश

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका भित्रमा दुई आर्थिक वर्षमा ४२ किलोमिटर सडक कालोपत्रे र ढलान गरी पक्की बनेको छ । सडकको सहज सुविधाले बसाइसराइमा कमी, कृषि उपजको बजारीकरणमा सुविधा र यात्रामा सहजता बनाएको छ । 

पहाडी जिल्ला गुल्मीको रेसुङ्गा नगरपालिकाका वडाहरूमा पक्की सडक बनेसँगै स्थानीयलाई सुविधा भएको छ । मुख्य गरी रेसुङ्गा नगरपालिकाको वडा नम्बर ४ अर्खले, वडा नम्बर ६ थामा, वडा नम्बर ३ भाडागाउँ, वडा नम्बर १३ दुवीचौर, जिल्लाको सदरमुकाम तम्घासका भित्री सडक र अन्य स्थानका सडकहरू कालोपत्रे र ढलान गरी पक्की बनेका हुन् ।

सडकमा नाली निर्माण, वाल निर्माण र चिटिक्क पारिएको सडक निर्माणले बस्ती चिटिक्क बनेको छ । हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने ग्रामीण भेगका सडकहरू पक्की बनेपछि बस्ती चिटिक्क बन्नुका साथै कृषि उपजको बजार ग्यारेन्टी, बसाइसराइमा केही हदसम्म भएपनि कम, सहज यात्राको सुविधा र सवारी भाडादरमा कमी आएको रेसुङ्गा नगरपालिका ६ स्थानीय ज्ञानकुमारी बि.क र रेसुङ्गा नगरपालिका ४ स्थानीय टिकाराम पन्थीको भनाई छ । 

रेसुङ्गा नगरपालिका भित्र आर्थिक वर्ष २०७९/०८० मा २४ किलोमिटर ४३८ मिटर र आर्थिक वर्ष २०८०/०८१ मा १७ किलोमिटर ३१३ मिटर गरी ४१ किलोमिटर ७५१ मिटर सडक कालोपत्रे र आरसिसी गरी पक्की सडक बनेको हो ।     

नगरपालिका भित्र आर्थिक वर्ष २०८०/०८१ मा मात्रै सडकसहित अन्य विकास बजेट अन्तर्गत कुल एक अर्ब नौ कराेड ४६ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ । आफूहरू निर्वाचित भएको दुई वर्षको अवधिमा पूर्वाधार क्षेत्रको पनि आधार स्तम्भ पहिलो पूर्वाधार सडक पूर्वाधारको क्षेत्रमा फड्को मारेको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button