तपाईँ सुन्दै हुनुहुन्छः

बाघको आक्रमणमा परी बेपत्ता बालिकाकाे  शव जङ्गलमा फेला

बाँके । बाँके जिल्लाको खजुरा–६ सिमलघारीमा आइतबार रातिदेखि बेपत्ता भएकी अढाई वर्षीया लक्ष्मी पुनको शव दुई दिनपछि नजिकैको जङ्गलमा फेला परेको छ। बाघको आक्रमणमा परेकी बालिका नेपाल प्रहरी, सशस्त्र प्रहरी, ठाकुरद्वारा निकुञ्जका प्राविधिक टोली, बन डिभिजन, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रिय खोजी अभियानपछि मङ्गलवार बिहान फेला परेको हो ।

लक्ष्मी आइतबार राति साढे ८ बजेतिर आमा र दाजुसँग घर नजिकैको बाख्राको खोरमा गएकी थिइन् । फर्कने क्रममा उनी अचानक बेपत्ता भएपछि परिवारले खोजी गरे तापनि उनी फेला परिनन्। गाउँलेहरूले नजिकैको खेतमा बाघले कुकुरलाई आक्रमण गरेको देखेपछि बालिकालाई पनि बाघले लगेको हुनसक्ने आशङ्का गरेका थिए। खेतमा रगतका छिटा र बाघका पञ्जाका छापहरू फेला परेपछि खोजी कार्यलाई तीव्र बनाइएको थियो।

प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी गरे तापनि बालिकाको अत्तोपत्तो लागेको थिएन । बाघको गतिविधि नियन्त्रण गर्न स्थानीय निकुञ्ज प्राविधिकहरू पनि परिचालित भएका थिए ।

बालिकाको शव भेटिएपछि गाउँमा त्रास फैलिएको छ भने परिवारमा शोकको छायाँ छाएको छ। आमा सीता पुन गहिरो शोकमा हुनुहुन्छ भने वैदेशिक रोजगारीमा रहेका उनका श्रीमान् वीरेन्द्र पुन पनि घटनाको खबर पाएर फर्किँदै छन् ।

बाघको नियन्त्रणका लागि अहिले बाख्रा र कुकुरको प्रयोग गरी खोर राख्ने योजना बनाइएको छ। आवश्यकता परेमा हात्तीको प्रयोग गरेर पनि बाघलाई नियन्त्रणमा लिने प्रयास गरिने जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button