तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णजन्माष्टमीको अवसरमा आज देखि तीन दिन जनकपुरधाममा मेला  

जनकपुरधाम । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसर पारेर तराई मधेश सहित मिथिलाका गाउँ गाउँमा आज देखि मेला लाग्ने गरेको छ । 

ठाउँ ठाउँमा भगवान् श्रीकृष्णको माटोको प्रतिमा बनाएर भाद्र कृष्णपक्ष अष्टमी तिथिका दिन कृष्ण जन्माष्टमी पर्व हर्षोल्लासका साथ मनाउने चलन अनुसार यस वर्ष पनि गाउँ गाउँमा मनाइएको छ । 

भगवान् श्रीकृष्णको लीलामा आधारित पात्रहरूको माटोको प्रतिमाहरू स्थापित गरेर कृष्ण पर्व मनाउने प्रचलन निक्कै पहिला देखि मिथिलामा रहेको पण्डित शोभाकान्त झा आचार्यले जानकारी दिनु भएको हो । मिथिलामा हरेक पर्व तथा उत्सवहरूमा माटोको प्रतिमा बनाएर पूजा गर्ने पहिला देखिकै विशिष्ट चलन रहेको पण्डित आचार्यले जानकारी दिनु भयो । 

जनकपुरधामको रेल्वे स्टेसनमा यस वर्ष पनि भव्य रुपमा श्रीकृष्णजन्माष्टमी पर्व मनाउने तयारी गरिएको छ । आकर्षण पण्डालको निर्माण गरेर त्यसभित्र भगवान् श्रीकृष्णको लिलामा आधारित प्रतिमाहरू राख्ने काम भएको छ । 

आज मध्य रातमा सबै प्रतिमाहरूमा वैदिक विधि विधान अनुसार पण्डितले मन्त्रोच्चारण सहित प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ । स्टेशन एरिया श्रीकृष्ण युवा कमिटीको आयोजनामा दशकौँ देखि कृष्ण जन्माष्टमी पर्व मनाइँदै आएको र यसलाई यस पटक पनि निरन्तरता दिने काम भएको छ ।

जनकपुरधाममा आज देखि तीन दिनसम्म मेला लाग्ने भएको छ । स्टेशन एरियामा संस्कृति कार्यक्रम पनि रहेको छ । स्टेशन एरियाको लाग्ने मेला भर्नका लागि गाउँ गाउँबाट भक्तजनहरू आउने गरेका छन् । यसे गरि जनकपुरधामको वडा नंं ४ मा रहेको भगवान् श्रीकृष्णको मन्दिरमा पूजा अर्चनाका लागि आज बिहान देखि भक्तजनहरूको ठूलो भिड रहेको छ । 

यसैगरि कृष्ण जन्माष्टमी पर्व गाउँ गाउँमा मेलाका साथै विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ । तराई मधेश सहित मिथिलामा हुने चाड पर्वले मान्छेमा नयाँ रक्त सञ्चार गर्ने गरेको संस्कृति विद्हरूको कथन रहेको छ । 

यता श्रीकृष्ण जन्माष्टमीको अवसरमा कतिपयले आज र केहीले भोली उपवास बस्ने गरेका छन् । परिवार जनका सुस्वास्थ्य, समृद्धिको कामना सहित भगवान् श्रीकृष्णको विशेष पूजा पाठ तथा उपवास गर्ने चलन रहेको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button