तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङ गोल्डकप: सगरमाथा युथ क्लब फाइनलमा

ताप्लेजुङ । लाखे जात्राको अवसरमा ताप्लेजुङमा भदौ ३ गतेदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा मोरङको सगरमाथा यूथ क्लब फाइनलमा पुगेको छ ।

आज सम्पन्न पहिलो सेमिफाइनलमा खेलमा गृह टीम सङ्घर्ष स्पोर्टिङ क्लबलाई २—१ गोल अन्तरले पराजित गर्दै मोरङको सगरमाथा यूथ क्लब फाइनलमा पुगेको हो ।

सगरमाथाका लागि दुवै गोल मिलन राईले गरेका थिए । मिलनले खेलको नवौं मिनेटमा र १५ मिनेटको इञ्जुरी समयको ९७ औँ मिनेटमा गोल गर्दै सगरमाथालाई फाइनलमा पुर्‍याए ।

सङ्घर्ष स्पोर्टिङ क्लबका लागि खेलको ६०औँ मिनेटमा कप्तान अनुप सेन्दाङले सगरमाथा यूथ क्लबविरुद्ध गोल गरे पनि फाइनलका लागि पर्याप्त भएन ।

ताप्लेजुङ फुङलिङको भानुजन माविको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा शनिबार (भोली) हुने सेमिफाइनलमा झापाको विर्तामोड युनाइटेड फुटबल क्लब र सिराहको सलहेश फुटबल क्लब आमनेसामुने हुँदै छ ।

सिराहको सलहेशले पाँचथर वाइवाई फुटबल क्लब पाँचथरलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । झापाको विर्तामोड युनाइटेड फुटबल क्लबले रूपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लबलाई १—० गोल अन्तरले पराजित गदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

भदौ १० गते सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button