तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय गन्तव्य बन्दै कान्ति ताल: दुर्लभ पन्छी ‘सारस’ को बासस्थान

नेपालगञ्ज । कान्ति ताल नेपालगञ्जको पर्यटकीय स्थलका रुपमा विकास हुँदै गइरहेको छ । बर्षौंदेखि बेवास्तामा रहेको तालले संरक्षण पाउन थालेपछि अहिले मुहार नै फेरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको २१ र २२ नम्बर वडामा पर्ने कान्ति तालमा सात मिटरको बाटो, पक्की नाला, पार्किङ एरिया, रेलिङ निर्माण गर्नुका साथै वृक्षारोपण पनि गरिएको छ ।

कान्ति ताल २५ बिगाह क्षेत्रफलमा फैलिएको छ । पुराना ताल तलाउको संरक्षण गर्दै तिनलाई पर्यटकीय स्थल बनाउने उद्देश्य अनुरुप अगाडि बढेको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । कान्ति ताल प्राकृतिक सिमसार क्षेत्रका रुपमा छ । यो ताल विभिन्न प्रजातिका चराहरूको वासस्थानका रुपमा पनि विकास भइरहेको छ । 

विश्वमै दुर्लभ मानिने सारसले कान्ति ताललाई आफ्नो बासस्थान बनाएको छ । दुर्लभ पन्छीका रुपमा रहेको सारसलाई नेपाल सरकारले संरक्षित पन्छीको सूचीमा समेत राखेको छ । सारस सिमसार क्षेत्रमा बस्न रुचाउने पन्छी हो । दुर्लभ सारसले वासस्थान बनाएपछि तालमा अवलोकन गर्ने मानिसहरूको चहलपहल समेत बढ्न थालेको छ । कान्ति ताल सारसका लागि निकै राम्रो वासस्थान रहेको चरा विज्ञहरू बताउँछन् । यो ताल सारसको प्रजनन गर्ने ठाउँ बनेको छ । 

कान्ति तालमा ३२ प्रजातिका चरा देखिएको विज्ञहरुको भनाई छ । चराका विभिन्न प्रजातिको संरक्षणका लागि संरक्षणविदहरुले चासो समेत ब्यक्त गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button