तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धबाबा सुरुङमार्ग निर्माणमा तीव्रता

पाल्पा । गुल्मी थोर्गाका रबि ज्ञवाली प्रत्येक साता तानसेन आउनुपर्दा कतिबेला सिद्धबाबा कटिन्छ भन्ने चिन्ता गर्नुहुन्छ । जतिबेला पनि पहिरो तथा ढुङ्गा खस्ने भएकाले उहाँलाई सिद्धबाबा क्षेत्रमा आउँदा चिन्ता पर्ने गरेको हो ।

त्यस्तै बुटवलबाट ३ किमी नजिकै पाल्पाको दोभानका बिष्णु पाण्डे सिद्धबाबा क्षेत्रको सडकमा दैनिक आवतजावत गर्न सास्ती खेपिरहनुभएको छ । यो सडकमा यात्रा गर्दा कतिबेला पहिरोमा परिने हो त्यसको टुङ्गो नभएको उहाँले बताउनुभयो । उहाँ जोखिमका कारण तराईमा बसाई सर्नुपर्ने अवस्थामा रहेको बताउनुहुन्छ ।

“सुरुङ निमार्णको काम नियमित हुँदा बसाई सर्नुपर्ने अवस्था हट्ने विश्वास छ । अबको केही वर्षमा नै ढुक्कले दैनिक घरबाटै बुटवल आउजाउ गर्न सकिन्छ ।” पाण्डेले भन्नुभयो ।

नेपाल सरकारको पूर्ण लगानीमा निमार्ण थालिएको पाल्पा सिद्धबाबा सुरुङमार्ग निमार्णले तीव्रता पाएको छ । दिउँसो र रातको समयमा गरि आयोजना स्थलमा २४ सैँ घण्टा काम गरेर तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनी तथा सडक विभाग लागिपरेका छन् ।

हिउँद न वर्षा जतिबेला पनि अत्यधिक जोखिम रहेको सिद्धबाबा क्षेत्रमा सुरुङ चाइना स्टेट कन्ट्रक्सन इन्जिनियर कर्पोरेसनले ९ मार्च २०२२ मा निर्माणको जिम्मा पाई २२ मार्च २०२७ मा निमार्ण सम्पन्न गर्ने छ । जसको कुल लगानी ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रुपैयाँ रहेको छ ।

सिद्धबाबा सुरुङमार्गको कुल लम्बाई ११ सय २६ मिटर रहेकोमा हालसम्म २९८ मिटर सुरुङ खनिसकिएको छ । ३ वटा बाइपास सुरुङ पनि १८० मिटर खनिएको छ । बाइपास सुरुङ पहिलो ६३ दशमलव १ मिटर बाइपास सुरुङ दोस्रो ५४ दशमलव ५ मिटर र बाइपास सुरुङ तेस्रो ६२ दशमलव ४ मिटर खनिसकिएको छ । आयोजना स्थलमा सुरुङगमार्ग बाहेक २३ सय ९८ मिटर सडकको स्तरउन्नतिको काम धमाधम भइरहेको छ ।

सुरुङमार्गको भौतिक प्रगति १५ दशमलव ९१ प्रतिशत रहेको छ । भने, वित्तीय प्रगति २० दशमलव ८ प्रतिशत रहेको सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय रुपन्देहीकी सूचना अधिकारी इन्जिनियर सबिता ज्ञवालीले जानकारी दिनुभयो ।

निर्माण कम्पनीले सुरुङमार्ग बाहेकको तलो सिद्धबाबा मन्दिरदेखि हेडबक्सको उत्तर करिब दोभान सम्मको सडकलाई डबल लेन बनाउने पहिरो ढुङ्गा रोक्न रक नेट रक सेड स्लोप पोटेक्स लगाउने काम गरिरहेको छ,” आयोजनाकी इन्जिनियर ज्ञवालीले बताउनुभयो  ।

इपिसी मोडलमा ठेक्का सम्झौता भएका कारण निर्माण कम्पनीले सुरुङ ५ वर्षमा सम्पन्न गर्नेछ ।  थप ५ वर्षसम्म पूर्ण जिम्मेवारी ठेकदार पक्षको रहने गरी सम्झौता गरिएको छ । निर्माण कार्यपुरा भएपछि पनि १५ वर्षसम्म इन्जिनियरिङ समस्या देखिएमा मर्मत तथा संरक्षण गर्ने जिम्मेवारी निर्माण कम्पनीको रहने छ ।

इपिसी मोडल ठेक्का सम्झौताले आयोजना निमार्ण सम्पन्न भई हस्तान्तरण भएपछि मर्मत तथा संरक्षणमा चासो नदिने परिपाटीको अन्त्य हुने छ । पहिरोको उच्च जोखिम रहेको सिद्धबाबा क्षेत्र सुरुङमार्ग निर्माण यस आवतजावत गर्ने यात्रुहरू उत्साहित बनेका छन् । मृत्यु मार्गको परिचय पाएको सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणसँगै सडक स्तरोन्नति भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने हजारौँ यात्रुले सुरक्षित यात्रा गर्न सक्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button