तपाईँ सुन्दै हुनुहुन्छः

झाडा पखालाका कारण बाँकेको नरैनापुरका ४ जनाको मृत्यु

बाँके । बाँकेको नरैनापुरमा झाडा पाखाका कारण आइतबार ४ जनाको मृत्यु भएको छ । नरैनापुर –३ गेगलीमा एक्कासि फैलिएको झाडापखालाबाट गाउँका १० जना बिरामी परेका छन् भने ४ जनाको मृत्यु भएको नरैनापुर ३ का वडा अध्यक्ष अजय मिश्राले जानकारी दिनुभयो ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले ३ नम्बर भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउनसाथ आफू लगायत स्वास्थ्य चौकीका सि अहेवा तैयाब अहमद र अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेको बताउनुभयो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले झाडापखाला फैलिएको गेगलीमा स्वास्थ्य क्याम्प स्थापना गरी उपचार सुरु गर्न स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिएको बताउँदै उहाँले हरिराम पासीको श्रीमती, मोहन लाल पासीको श्रीमती, राम बिहारीको डेढ वर्षको छोरी र सखावत अलिको अन्दाजी १० वर्षको छोराको मृत्यु झाडापखालाकै कारण भएको बताउनुभयो ।

झाडापखाला नियन्त्रणका लागि आवश्यक परेमा थप सहयोगका लागि स्वास्थ्य कार्यालय बाँकेमा पनि सम्पर्क गरेर समन्वय भइरहेको अध्यक्ष शाहले जानकारी दिनुभयो ।

अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको हुनसक्ने स्वतथ्यकर्मीको भनाई  छ । फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button