तपाईँ सुन्दै हुनुहुन्छः

डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

चितवन । जिल्लामा डेङ्गीको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहनुभएको छ । उहाँको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

ज्वरो आएर उपचारका लागि आउनुभएका उहाँको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । शुक्रबार अस्पताल भर्ना हुनुभएका उहाँको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिरामीमा कडा खालको डेङ्गी सङ्क्रमण देखिएको थियो । शरीरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गले काम गर्न छोडेर  (मल्टि अर्गान फेलर) उहाँको मृत्यु भएको हो ।

उहाँको भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय वृद्धको डेङ्गीको सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका तीन हजार तीन सय ३१ जनाको परीक्षण गर्दा सात सय ८८ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ ।

सङ्क्रमितमध्ये पाँच सय ८० जना चितवनका र बाँकी अन्य जिल्लाका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button