तपाईँ सुन्दै हुनुहुन्छः

न्यू डायमण्ड र एपिएफ क्लब लामाचौर कप राष्ट्रिय भलिबलको फाइनलमा 

पोखरा । पोखराको लामाचौरमा जारी लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिता २०८१ अन्तर्गत बुधबार दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् ।
नव आदर्श सामुदायिक विकास समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा आयोजना गरिएको महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फका दुई खेल सम्पन्न भएपनि पुरुषतर्फ एक खेल मात्रै सम्पन्न भएको हो  ।
महिलातर्फ टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ भने नेपाल पुलिस क्लबले जित हासिल गरेको छ । पुरुषतर्फको अन्तिम खेल घरेलु टिम गण्डकी र एपिएफको भने प्रकाश अभाव (लाइट प्रोटेस्ट) कारण स्थगित भएको छ ।
पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा भएको महिला तर्फको खेलमा डायमण्डले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–१३ ले हराएको डायमण्डले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ ले नै हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो । दुई खेलबाट डायमण्डको स्पष्ट ६ अङ्क छ । डायमण्डले यस अघि एभरेष्ट भलिबल क्लबलाई ३–० कै सोझो सेटमा हराएको थियो ।
दोस्रो खेलमा एपिएफले एभरेष्ट भलिबललाई २५–१०, २५–११ र २५–१३ ले हराउन सफल भएको हो । यो सँगै एपिएफको पनि स्पष्ट ६ अङ्क बटुलेको छ । गण्डकी र एभरेष्ट भने अङ्क विहीन भएका छन् । चार टिम सहभागी प्रतियोगिता राउन्डरोविन लिगको आधारमा खेलाइएको छ । लिगका अन्तिम खेलहरू भोलि हुनेछन् । एपिएफ र डायमण्डले फाइनलको यात्रा सुरक्षित गरिसकेका छन् ।
उता पुरुषतर्फ भएको खेलमा नेपाल पुलिस क्लबले ट्राभल इन्क्वाइरी गलकोटलाई ३–० को सोझो सेटमा हराउन सफल भयो । पुलिसले गलकोटलाई पहिलो सेटमा २५–१२, दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२२ ले हराएको हो । दुई खेलमा जित हासिल गरेको पुलिसको ६ अङ्क छ । पुलिसले यसअघि गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।
दिनको अन्तिम खेलमा गण्डकी र एपिएफ प्रतिस्पर्धा गर्दै गर्दा दोस्रो सेट सकिदा लाइटप्रोटेस्टका कारण खेल रोकिएको छ । उक्त खेलमा दुवै टिमले १–१ सेट जितेका थिए । गण्डकीले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट १९–२५ ले गुमाएको थियो । बिहान वर्षा भएपछि खेल ढिला गरि सुरु हुँदा अन्तिम खेल हुन नसकेको खेल संयोजक शङ्कर केसीले जानकारी दिए ।
राउन्ड रोविन लिगको आधारमा खेलाइएको खेलमा स्थगित एपिएफ र गण्डकीको खेल भोलि हुने भएको रेफ्री संयोजक टहलसिंह थापाले बताउनु भयो । यस्तै लिगका अन्य बाँकी खेल समेत भोलि नै हुने भएका छन् । प्रतियोगितामा महिला पुरुष दुवैतर्फ चार–चार टिमको सहभागिता रहेको छ । प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् ।
भोलीको खेल: महिलातर्फ एभरेष्ट विरुद्ध गण्डकी, न्यु डायमण्ड विरुद्ध एपिएफ त्यस्तै पुरुषतर्फ गण्डकी विरुद्ध गलकोट र पुलिस विरुद्ध एपिएफको बिच हुने भएको समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले बताउनु भयो । मङ्गलवारदेखि प्रतियोगिता सुरुभएपनि औपचारिक उद्घाटन भने आज (बुधबार) गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले रेफ्रीलाई बल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button