तपाईँ सुन्दै हुनुहुन्छः

दोधारा चाँदनीलाई देशकै ठूलो नाकाका रुपमा विकास गर्छौं : गृहमन्त्री लेखक

दोधारा चाँदनी (कञ्चनपुर) । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताउनुभएको छ ।

दोधारा चाँदनी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको आज समुद्घाटन गर्दै मन्त्री लेखकले दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रुपमा विकास गरी देशको सबैभन्दा ठूलो नाकाका रुपमा परिणत गर्ने बताउनुभयो ।

“महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको छ अब दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण हुन्छ”, उहाँले भन्नुभयो, “यो नाकालाई भारत र चीनसँग जोडेर देशकै ठूलो नाकाका रुपमा विकास गर्छौं ।” उहाँले निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा रहेको बताउँदै तिङ्करबाट नै मानसरोवर यात्राका लागि सुनिश्चितता हुने बताउनुभयो ।

“उद्योग, व्यापार वाणिज्य, पर्यटन सबैका लागि महत्त्वपूर्ण नाकाका रुपमा दोधारा चाँदनीलाई विकास गर्छौं”, गृहमन्त्री लेखकले भन्नुभयो, “यो त्यसै गफ गरेको होइन, उहिले उहिले महाकालीमा झोलुङ्गे पुल बनाउँछौँ भन्दा हाँस्ने गरेको मैले सुन्या छु अहिले महाकालीमा चार लेनको पक्की पुल बनेको छ, गरेपछि त बन्दो रहेछ त ।” उहाँले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताउनुभयो ।

एकै दिन प्रहरीका दुई वटा भवन उद्घाटन
गृहमन्त्री लेखकले आज कञ्चनपुरमा नेपाल प्रहरीका दुई वटा भवन उद्घाटन गर्नुभएको छ ।

भीमदत्त नगरपालिकास्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र दोधारा चाँदनी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको भवन उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरसमेत सहभागी हुनुहुन्थ्यो ।

गृहमन्त्री लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताउँदै प्रहरीको नवनिर्मित भवनबाट सेवा प्रवाहमा सहज हुने बताउनुभयो । “अहिले प्रहरीले समिति स्रोतसाधनमा काम गर्नुपरेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “नवनिर्मित भवनले सेवा प्रवाहमा सहज हुनेछ ।”

नेपाल प्रहरीका महानिरीक्षक कुँवरले सम्पूर्ण नागरिकले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले पूर्वाधार विकासमा जोड दिएको बताउनुभयो । “नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन”, उहाँले भन्नुभयो, “यो प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।”

बाढी प्रभावित क्षेत्रको निरीक्षण
तीन दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।

मङ्गलबार कञ्चनपुरको पुनर्वास, बेलौरी र बेल्डाँडी गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको थियो । आज उहाँले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका बाढी प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गर्नुभयो ।

निरीक्षणमा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव डा भीष्मकुमार भुसालसहित बाढी प्रभावित क्षेत्र पुगेका मन्त्री लेखकले महाकाली, जोगबुढा र दोदा नदीबाट हुने डुबान र कटानको निरीक्षण गर्नुभयो । बाढी प्रभावित क्षेत्रका स्थानीयले नदीमा पक्की तटबन्ध निर्माणको माग गरेका थिए ।

गृहमन्त्री लेखकले मन्त्रालयले तीनवटै नदीमा तटबन्ध निर्माण गर्नका लागि लागत अनुमान तयार गरेर ऊर्जा मन्त्रालयमार्फत नदी नियन्त्रणको काम गर्न आफू पहल गरिरहेको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button