तपाईँ सुन्दै हुनुहुन्छः

सहकारी क्षेत्रको कडा नियमन गर्न खोज्दैछौं : मन्त्री अधिकारी

 
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अब सहकारीमा कडाइका साथ नियमन हुने बताउनुभएको छ ।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १४औँ स्थापना दिवसको अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री अधिकारीले सहकारीमा आएका समस्यालाई समाधानका लागि सरकार अहिले लागि परेको र अब प्रभावकारी नियमनका लागि पनि काम गरिरहेको बताउनुभएको हो ।
मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गर्न नसकिने भएपनि विस्तार सुधार हुँदै जाने बताउनुभयो । ‘सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन हामीले नियामक निकाय स्थापना गर्ने कार्य अगाडि बढाएका छौँ । यसका लागि कानुन बन्दैछ’ उनले भने, ‘यो निकाय कस्तो बनाउने भनेर ऐनको मस्यौदा मन्त्रिपरिषद्मा लादैछौं,’ उहाँले भन्नुभयो ।
मन्त्री अधिकारीले सरकारको पक्षबाट यो क्षेत्रमा भएका समस्या हल गर्न प्रयास भइरहेको बताउनुभयो । सहकारी क्षेत्रमा भएका राम्रा र नराम्रा पक्षलाई पत्रकारले उजागर गर्नुपर्ने मन्त्री अधिकारीको भनाई छ ।
‘अर्थतन्त्रको तीन खम्बा मध्ये एक महत्वपूर्ण खम्बा सहकारी हो । यस क्षेत्रमा भएका राम्रा र नराम्रा पक्षलाई पत्रकारले उजागर गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘अहिले यो क्षेत्रमा देखिएको अविश्वासमा विश्वसनीयता बढाउनुपर्छ । सहकारीप्रति अहिले भ्रम फैलाइएको छ, त्यसलाई हामीले चिर्नुपर्ने छ ।’
पछिल्लो समय जनमानसमा सबै सहकारी खराब छन् भन्ने हल्ला र भ्रम फैलाइएको मन्त्री अधिकारीको भनाइ छ । ‘सहकारीमा एकै प्रकृतिका मानिस छैनन् । कोही सानो बचत गर्ने, कोही ठूलो ठूलो बचत गर्ने, कोही आन्दोलनका लागि मात्र पनि सहकारीमा प्रवेश गरेका छन्’, सबैको स्वार्थ एउटै छैन,’ मन्त्री अधिकारीले भन्नुभयो ।
यस्तै, कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले सहकारी क्षेत्रमा अहिले सबै मिलेर विश्वास बढाउनु पर्ने बताउनुभयो । सहकारीका विषयगत संघ÷संस्थालाई सक्रिय बनाउनुपर्ने उहाँको भनाइ छ ।
‘सहकारी क्षेत्र नै संवेदनशील अवस्थामा छ । यो अवस्थामा हामीले सहकारीकर्मी र सहकारीका सदस्यलाई विश्वास बढाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘ऐन नियम विपरीत काम भएका भए पत्रकारले बाहिर ल्याउनुपर्छ ।’
कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घकी अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रका विषय बाहिर ल्याउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले पत्रकारलाई सत्यलाई सत्य र असत्यलाई असत्यका भनेर समाचार सामग्री सम्प्रेषण गर्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button