तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा व्यावसायिक रुपमा अण्डा बिक्री गरेर मासिक लाखौँ आम्दानी

गुल्मी । गुल्मीमा व्यावसायिक रूपमै कुखुरा पालनतर्फ आकर्षण बढ्न थालेको छ । कुखुरा मात्रै होइन पछिल्लो समयमा अण्डा उत्पादन गर्नतर्फ पनि विदेशबाट फर्केर व्यवसाय गर्दै आएका छन् । उत्पादित अण्डा जिल्लामै खपत हुने र बजारको पनि राम्रो सम्भावना भएपछि यस व्यवसाय तर्फ युवाहरूको आकर्षण बढ्ने गरेको हो । 

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–२ ग्वादीमा चिरञ्जीवी अर्यालले लेयर्स कुखुरा पालेर मनग्य कमाइ गर्दै आउनु भएको छ । २०६३ सालमा ३ वर्षसम्म विदेशमा बसेर राम्रो आम्दानी नभएपछि स्वदेशमै केही गरौँ भनेर ११ वर्ष पहिलेदेखि अण्डा दिने कुखुरा पाल्दै आउनु भएको हो । 

सुरुमा ५० वटा कुखुराबाट सुरु गरेको व्यवसायमा अहिले २ हजार लेयर्स कुखुरा रहेका छन् । उत्पादित अण्डा रुरुक्षेत्र गाउँपालिकामै खपत हुने गरेको व्यवसायी अर्यालले बताउनुभयो ।उत्पादित अण्डा आफ्नै गाडी मार्फत घरघरमा अण्डा बिक्रीका निम्ति लैजाने गरेको अर्यालले बताउनुभयो । लेयर्स कुखुराबाट अण्डा बिक्री गरेर मासिक १ लाख ७० हजार आम्दानी हुने गरेको अर्यालको भनाई छ । 

गाउँपालिका भित्र कुखुरा पालन व्यवसायमा गाउँपालिकाले र वडा पालिकाबाट सहयोग गरिँदै आएको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–२ का वडाअध्यक्ष घनश्याम अर्यालले बताउनुभयो । कुनै पनि नागरिकले स्वदेशमै बसेर केही गर्छु भन्ने कृषकको लागि स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो ।

व्यवसायी अर्यालको फर्ममा दैनिक १८ सय अण्डा उत्पादन हुने गरेको छ । अण्डा उत्पादनलाई बढाएर गाउँपालिकालाई अण्डा उत्पादनमा आत्मानिर्भर बनाउने उद्देश्य रहेको व्यवसायी अर्यालको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button