तपाईँ सुन्दै हुनुहुन्छः

सेवालाई चुस्त र प्रभावकारी बनाउने पर्यटन मन्त्री पाण्डेको प्रतिबद्धता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतको सेवालाई चुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

मन्त्रालयमा आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले मन्त्रालय र मातहत निकायको अवस्थाबारे आफूले अध्ययन र सरोकारवाला पक्षसँग छलफल गरिरहेको भन्दै नतिजामुखी काममा केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो ।

“छलफलमा आएका सुझाव मन्त्रालयको रणनीति तय गर्न मद्दत पुग्ने विश्वास लिएको छ”, उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रका समस्या र समाधानबारे आएको सुझावलाई मनन गर्दै आगामी दिनमा पनि यस प्रकारका छलफललाई निरन्तरता दिइनेछ ।”

पर्यटनमन्त्री पाण्डेले अहिलेको पुस्ताले मुलुक नबनाउने हो भने कसले बनाउँछ भन्दै मुलुक सामु आइपरेका चुनौतीलाई समाधान गर्दै मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशामा अगाडि बढाउन सबै पक्षबीच समन्वय र सहकार्यका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रका जल्दाबल्दा समस्यालाई सरोकारवालासँग छलफल र समन्वयका साथ समाधान गर्दै दिगो पर्यटन विकासका लागि मन्त्रालय लाग्ने उहाँको भनाइ थियो ।

उहाँले कसैसँग पनि नबहकीकन साँच्चिकै मन्त्रालय र देशको हितमा लाग्न प्रमाणित गरेर देखाउने अठोटका साथअघि बढेको उल्लेख गर्नुभयो ।

छलफलमा सहभागी सञ्चारकर्मीले पर्यटन दशक कार्यक्रम कार्यान्वयन गर्न, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सेवा चुस्त र प्रभावकारी बनाउन र नेपाल पर्यटन बोर्डलाई अन्तर्राष्ट्रिय बजारीकरणमा खरो रुपमा उत्रनका लागि नीतिगत र संरचनागत सुधार गर्न सुझाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button