तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेश स्तरीय नृत्य प्रतियोगिता हुने 

उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा रहेको भाइरस डान्स क्याम्पको आयोजनामा कोशी प्रदेश स्तरीय “नृत्य प्रतियोगिता“ हुने भएको छ ।
कोशी प्रदेश स्तरीय नृत्य प्रतियोगिता हुने भएपछि शनिबार आयोजक भाइरस डान्स क्याम्पले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रदेश स्तरीय प्रतियोगिताको अडिसन भोली आइतबार उदयपुरको बेलका नगरपालिकाको रामपुरबाट सुरु हुने आयोजकले जनाएको छ । त्यस्तै अडिसन राउण्ड अन्तर्गत भदौ १७ गते सुनसरीको धरान र इटहरी सोही दिन मोरङको विराटनगर, भदौ २० गते मोरङ जिल्लाकै बेलबारी र उर्लाबारी, भदौ २२ गते झापाको बिर्तामोड र काँकडभिट्टा, भदौ २३ गते इलामको फिदिम र फिक्कल, भदौ २३ गते खोटाङको दिक्तेलमा हुने छ ।
आयोजकले दिएको जानकारी अनुसार भदौ २७ गते उदयपुरको कटारी, २९ गते नेपालटार र मुर्कुची, भदौ ३१ गते सदरमुकाम गाईघाटमा र असोज १ गते चौदण्डीगढी नगरपालिकाको बेल्टारमा अडिसन राउण्ड हुने छ ।
आयोजक भाइरस डान्स क्याम्पका अनुसार प्रतियोगिताको मेघा, ग्राण्ड, सेमी र फाइनल अडिसन भने उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा हुने छ । मेघा अडिसन असोज  ५ गते, ग्राण्ड अडिसन असोज १२ गते, सेमी अडिसन असोज १९ गते र प्रतियोगिताको फाइनल असोज २३ गते हुने छ ।
प्रतियोगितामा प्रथम हुने प्रतियोगीले १ लाख ११ हजार एक सय एघार, दोस्रो हुनेले ५५ हजार पाँच सय पचपन्न, तृतीय हुनेले ३३ हजार ३ सय तेत्तीस र सान्त्वना पुरस्कार ९ हजार ९ सय ९९ रुपैयाँ रहेको भाइरस डान्स क्याम्पका अध्यक्ष कल्याण कार्कीले जानकारी दिनुभयो ।
प्रदेश स्तरीय नृत्य प्रतियोगितामा करिब १८ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताले कोशी प्रदेशको सांस्कृतिक सम्पदालाई उजागर गर्नुका साथै स्थानीय कलाकारहरूको प्रोत्साहन हुने प्रतियोगिता आयोजक समितिका सल्लाहाकार एवम् नृत्य निर्देशक प्रेम जंग किराँतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button