तपाईँ सुन्दै हुनुहुन्छः

चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । १२ स्थानमा खसेको पहिरो पन्छाउन नसक्दा चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
गत बुधबार राती  आएको अविरल वर्षापछि खसेको भीषण पहिरो पन्छाउन नसक्दा चार दिनदेखि जुम्ला, कालिकोट, मुगु जोड्ने कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । वर्षासँगै आएको पहिरोले गगने खोला, एसमोड, मालाचौर, दहीखोला र किट्टुभीर लगायतका स्थानको बाटोसँगै पक्की पुल बगाएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एसपी विनोद शर्माका अनुसार राजमार्ग बन्द हुँदा पहिरोमा फसेका सयौँ यात्रुहरूले निकै सास्ती खेप्नुपरेको छ । उहाँले पहिरो हटाउन नेपालगन्ज र सुर्खेतबाट ठूला मेसिन झिकाइए पनि अझै दुई तीन दिन लाग्ने बताउनुभयो ।

सडक डिभिजन कार्यालय जुम्लाले जतिसक्दो छिटो क्षतिग्रस्त बाटो मर्मत गरी सञ्चालनमा ल्याउने तयारीमा जुटेको जनाएको छ । सडक अवरुद्ध भएपछि जुम्ला कालिकोट, मुगुबाट सुर्खेत, नेपालगन्जका लागि स्याउ बोकेका मालवाहक सवारी पनि रोकिँदा स्याउ कुहिने अवस्थामा पुगेको व्यापारीको भनाइ छ ।
२ सय ३२ किमी लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button