तपाईँ सुन्दै हुनुहुन्छः

‘समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्छ’

हेटौँडा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
जय नेपाल फाउण्डेशनले आज मकवानपुरको हेटौँडामा आयोजना गरेको ‘राजनीति नेतृत्वको सबक–युवा लक्षित आगामी दशक’ विषयक विचार गोष्ठीमा उहाँले महिला, मधेशी, आदिवासी जनजाति, दलित लगायत वर्ग तथा समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचन विधिबाट सुनिश्चित गरी संविधान संशोधन गर्न सकिने धारणा राख्नुभयो ।
चुनौती स्वीकार गरेरै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग पार्टीले सरकार गठनका लागि गठबन्धन गरेको प्रवक्ता डा महतको स्पष्टोक्ति थियो । प्रतिनिधिसभा सांसद डा महतले अब नेपालमा केही गर्न सकिँदैन, केही हुँदैन भनेर बन्दै गरेको भाष्य चिर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले व्यवस्था मात्र फेरिएकाले अब जनताको अवस्था फेर्ने गरी तीनै तहका सरकारले काम गर्नुपर्ने बताउनुभयो ।
फाउण्डेशनका अध्यक्ष भुपेन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा कांग्रेसका तर्फ निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button