तपाईँ सुन्दै हुनुहुन्छः

‘पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध’

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले पत्रकारिता क्षेत्रको समस्या समाधानका लागि मन्त्रालय सधैँ तयार रहेको बताउनुभएको छ ।

सञ्चारमन्त्री लेखीले नेपाल पत्रकार महासङ्घ धनुषाको आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको “सञ्चार कानूनको निर्माण र कार्यान्वयनको अवस्था” विषयक प्रदेश स्तरीय संवाद कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।

उहाँले मधेश प्रदेशका पत्रपत्रिकाहरूलाई प्रदेश सरकारबाट लोक कल्याणकारी विज्ञापन सहितका अन्य कार्यक्रमहरू गर्नका लागि सरकारले चालु आर्थिक वर्षमा १ करोड ५० लाख बजेट आम सञ्चार प्राधिकरणलाई उपलब्ध गराउने काम गरेको बताउनुभयो ।

सञ्चार मन्त्री लेखीले ज्येष्ठ पत्रकार वृत्ति विकासका लागि चालु आर्थिक वर्षमा बजेट बिनियोजन नभएपनि कार्यक्रमको शुरुआत गर्नका लागि प्रदेश सरकार तयार भएको बताउनुभयो ।

उहाँले वर्तमान सरकार पूर्ण रुपमा नै पत्रकार तथा सञ्चार मैत्री भएकाले प्रदेश सरकारले बनाएको कानुनहरूमा कही कतै त्रुटि भएको खण्डमा त्यसमा सुधार गर्नका लागि पत्रकारहरूसँग छलफल गर्न मन्त्रालय सधैँ  तयार भएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सैजुवालले नेपाल पत्रकार महासङ्घले सातै प्रदेशमा प्रदेश सरकारहरूले निर्माण गरेको कानुनहरूको कार्यान्वयनको अवस्थाका विषयमा समीक्षा गर्ने क्रममा मधेश प्रदेशमा बनेको कानुनहरूको समीक्षाका लागि कार्यक्रम गरेको बताउनुभयो ।

उहाँले अप्ठ्यारो अवस्थामा परेका सञ्चार माध्यमको सुरक्षा, ज्येष्ठ पत्रकार वृत्ति तथा पत्रकारिता पढ्न चाहनेहरूका लागि छात्रवृत्ति उपलब्ध गराउने तर्फ प्रदेश सरकार ध्यान दिनका लागि सुझाव दिनुभयो ।  

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पत्रकारिता क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले सहयोग गर्नका लागि तयार भएको बताउनु भयो । राजर्षि जनक विश्व विद्यालयका डिन डा. सत्यनारायण साहले विश्व विद्यालयले पत्रकारिता सम्बन्धि पठन पाठनको शुरुआत गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाको अध्यक्षतामा भएको सो कार्यक्रममा मानव अधिकार आयोग क्षेत्रिय कार्यालयका कार्यालय प्रमुख बुधनारायण सहनी, वरिष्ठ पत्रकार वि एम खनालसहितले बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button