तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्तरीय पानी परिक्षण ल्याब स्थापना गरिँदै : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरूलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराई जनस्वास्थ्यमा सुधार ल्याउन सरकारले योजना निर्माण गरेको बताउनुभएको छ ।

गुणस्तरीय खानेपानी वितरणलाई सुनिश्चित गर्न प्रदेश स्तरीय पानी परिक्षण ल्याब स्थापना गर्न थालिएको उहाँले बताउनुभयो । रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगीकूटीमा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘एक घर, एक धारा’ को अभियानलाई पूरा गर्दै कार्यान्वयन चरणमा रहेका खानेपानी आयोजनालाई सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।

योजनाबद्ध विकास प्रदेश सरकारको पहिलो आधार भएको बताउँदै समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी बनाउने अभियान पूरा गर्ने दिशामा सरकार रहेको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले रजत स्मारक, नव निर्मित कार्यालय भवनको उद्घाटन र रजत स्मारिकाको विमोचन गर्नुभयो । रजत जयन्ती मनाउँदै गर्दा खानेपानी उपभोक्ता संस्थाले निर्धारित लक्ष्य हासिल गर्न गरेका योगदान अविस्मरणीय र उल्लेखनीय रहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले सबै नागरिकलाई उच्चस्तरीय र गुणस्तरीय खानेपानी पुर्‍याउने लक्ष्य सरकारले पूरा गर्नुपर्ने बताउनुभयो ।

प्रदेश सभा सदस्य भगवती अधिकारीले नागरीहरूलाई सहज रुपमा गुणस्तरीय पानी पुर्‍याउने सङ्कल्प प्रदेश सरकारले पूरा गर्नुपर्ने बताउनु भयो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले पानी शान्तिका लागि, पानी समृद्धिका लागि र पानी जीवनको लागि भएको बताउनुभयो। सुरक्षित खानेपानीका लागि प्रदेश सरकारसँग समन्वय गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button