तपाईँ सुन्दै हुनुहुन्छः

धार्मिक सहिष्णुता र सद्भाव नै नेपालको परिचय : उपराष्ट्रपति यादव

नवलपरासी पश्चिम् । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धार्मिक सहिष्णुता र सद्भाव नै नेपाल र नेपालीको परिचय भएको बताउनुभएको छ।

पश्चिम नवलपरासीको परासीमा आयोजित ओलमा काउन्सिलले आयोजना गरेको धार्मिक सम्मेलनलाई सम्बोधन गर्दै यादवले विश्वमा नेपाललाई धार्मिक सद्भावको नमुनाको रुपमा चिनिएको बताउँदै सबै आस्था र धर्मको सकारात्मक पक्षलाई एक अर्काले सम्मान र आत्मसाथ गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सत्यको पालन गर्नु र इमानदारीका साथ जीवन निर्वाह गर्नु, सामाजिक सेवा जस्ता सिद्धान्त विभिन्न धर्ममा फरक–फरक रुपमा पाए पनि सबैको मूल उद्देश्य र मर्म मानवता, सहिष्णुता र समानता रहेको उल्लेख गर्नुभयो ।

सम्मेलनमा सहभागी धार्मिक गुरुहरूले एक धर्मले अर्को धर्मलाई सम्मान र भातृत्वको रुपमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

१४९९ औ मोहम्मद जयन्तीको अवसरमा आयोजित सम्मेलनमा हिन्दु, इस्लाम, बौद्ध, क्रिस्टियन लगायतका धर्मगुरुहरूका साथै देशभरबाट प्रतिनिधि सहभागी भएको आयोजक ओलमा काउन्सिल नेपालका अध्यक्ष सैयद गुलाम हुसैन मियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button