तपाईँ सुन्दै हुनुहुन्छः

‘रिक्त रहेका सबै संवैधानिक नियुक्तिलाई एकैचोटी पूर्णता दिनुपर्छ’

विराटनगर । नेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, रिक्त रहेका सबै संवैधानिक नियुक्तिलाई एकैचोटी पूर्णता दिनुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले सबै संवैधानिक नियुक्तिलाई एकैचोटी पूर्णता दिन प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापतिलाई आफूले भनेको र त्यसमा उहाँहरू पनि सकारात्मक रहेको बताउनुभयो ।

उहाँले संवैधानिक नियुक्तिका लागि अब बस्ने बैठकले रिक्त रहेका सबै संवैधानिक आयोगले पूर्णता पाउने विषयमा निर्णय गर्ने बताउनुभयो ।

एक प्रश्नमा अध्यक्ष दाहालले उपसभामुखले प्राविधिक रुपमा नजानेर गरेको त्रुटिको विषयलाई लिएर पदबाट हटाउने कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभयो ।

उपसभामुख एउटा इमान्दार र जनजाति महिला भएको तथा उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा बालबालिकाका लागि काम गरिसकेकाले प्राविधिक त्रुटिकै आधारमा पदबाट हटाएर सजाय दिने कुरा उपयुक्त नहुने उहाँको भनाई थियो ।

अध्यक्ष दाहालले आफ्नो पार्टीले सबैभन्दा बढी आन्दोलन र बलिदान गरेर ल्याएको व्यवस्था र परिवर्तनको रक्षाका निम्ति पार्टीलाई तयार पार्ने अभियानमा आफु लागिपरेको बताउँदै त्यसका लागि सबै प्रदेशमा पार्टीलाई केन्द्रित गर्ने काम भइरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button