तपाईँ सुन्दै हुनुहुन्छः

कुमाल समुदायको संस्कृति झल्कने सङ्ग्रहालय निर्माण

पोखरा । पोखरा महानगरपालिका–२७ को रिठ्ठेपानीमा आदिवासी समुदायमा सूचीकृत कुमाल जातीको संस्कृति झल्कने सङ्ग्रहालय निर्माण गरिएको छ ।
कुमाल समुदायको कला, संस्कृति, भाषा र रीतिरिवाजको बारेमा बुझ्न र हेर्नका लागि सहज हुने गरि नेपाल कुमाल समाज कास्कीले पोखरा २७ को कुमाल गाँउमा करिब २५ लाखको लागतमा सङ्ग्रहालय निर्माण गरेको हो ।
सङ्ग्रहालयको उद्घाटन गर्दै पूर्व गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपालमा भएका विभिन्न जातजातिको ऐतिहासिक काल खण्ड र संस्कृतिको संरक्षणसँगै पुस्ता हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो  ।
विभिन्न जातजातिको सामूहिक एकताले नै नेपाल राज्य चल्दै आएकाले यसलाई जीवन्त दिनका लागि जाती विशेष भन्दा पनि भाषा, कला र संस्कृतिको संरक्षणलाई सबै जातजातिले पहल गर्नुपर्ने सुझाव राख्नुभएको थियो ।
नेपाल कुमाल समाज कास्कीका अध्यक्ष चेत बहादुर कुमालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कुमाल समाजकी केन्द्रिय उपाध्यक्ष श्रुति कुमाल, पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ, केन्द्रिय उपाध्यक्ष मानेन्द्र कुमाल, वडा नं २७ का वडा सदस्य जितेन्द्र क्षेत्री र बुद्धिमाया थापा मगर, राईजिङ स्टार क्लबका अध्यक्ष यम गुरुङ लगायतले कुमाल समुदायको संस्कृतिलाई जोगाउनु सबैको कर्तव्य भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button