तपाईँ सुन्दै हुनुहुन्छः

हिमताल विष्फोटको जोखिमले ‘ना’ र ‘बेदीङ’का वासिन्दा अनिदै

दोलखा।दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ मा पर्ने च्छो– रोल्पा हिमताल जाने पैदलमार्गका दुई वस्ति ना र बेदीङ बाढी– पहिरोको जोखिममा परेको छ ।

च्छो– रोल्पा हिमताल विष्फोटको खतरा र वस्ति माथिको भीर खस्छकी भन्ने पिरलोले रातभरि अनिदो बस्नुपर्ने अवस्था भएको बेदीङको स्थानीय दावालमु शेर्पा बताउनु हुन्छ । निरन्तरको बर्षाका कारण च्छो– रोल्पा हिमताल विष्फोट भई हाल्छ की भन्ने त्रास पनि छ, अनि गाउँ माथिको भीर बग्छ कि भन्ने त्रास पनि छ, दावालमुले भन्नु भयो– त्यसैले वर्षा भएको बेला रातभरि अनिदै बस्नु पर्छ ।

असार २४ गतेको अविरल बर्षाले च्छो– रोल्पा जाने मार्गको पाँचवटा पुल बगाएपछि अहिले ना र बेदीङका वासिन्दा अन्यत्र आवत– जावत गर्न नसक्ने अवस्थामा छन् । जसका कारण ना गाँउमा रहेका झण्डै २७ जना र बेदीङमा रहेका विद्यार्थी र शिक्षक समेत झण्डै ३२ जना सङ्कटमा परेका छन् ।

च्छो– रोल्पा जान बेदीङबाट ना गाँउहुदै अघि बढ्नुपर्छ । बर्षायाममा बेदीङकै मानिस ना गाँउमा उक्लने भएकोले अहिले बेदीङमा गाउँले ६ जनामात्र रहेको दावालमुले बताउनु भयो । ना मा भने २७ जना रहेको दावालमुले बताउनु भयो ।

बेदीङमा स्थानीय गाउँले बाहेक साङ्छोलिङ मनस्ट्री लामा स्कुलमा पढ्ने २२ जना विद्यार्थी, तीन जना शिक्षक र एक जना कुक समेत रहेको दावालमुको भनाई ।बेदीको गाँउमा भीरबाट पहिरो खस्ने त्रास भएपनि स्कुल रहेको ठाउँमा भने पहिरोको त्रास नरहेको साङ्छोलिङ मनस्ट्री लामा स्कुलका शिक्षक बोलेन्द्र आचार्यले बताउनु भयो । च्छो– रोल्पा हिमताल विष्फोट त नहोला तर त्यस्तो अवस्था आयो भने स्कुल पनि जोखिममा पर्ने शिक्षक आचार्य बताउनु हुन्छ ।

ना गाउँ पनि पहिरोको जोखिममा त छैन तर च्छो– रोल्पा विष्फोट भयो भने ना गाउँ पनि बग्ने खतरा छ– आचार्यले भन्नु भयो । इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकका भूर्गवविद् डा. वसन्तराज अधिकारी विगतमा च्छो– रोल्पा हिमताल विष्फोटको खतरा भएपछि तीन मिटर पानी घटाउने काम भएकोले त्यतिधेरै जोखिम नहुनु पर्ने बताउनुु हुुन्छ ।

तर पछिल्लो अवस्थाको बारेमा स्थलगत वा स्याटलाइटको माध्यमबाट समेत अध्ययन नभएकोले विष्फोट हुुन्छ या हुँदैन भनेर एकिनका साथ भन्न नसकिने डा. अधिकारीको भनाई छ । बाढी– पहिरोका कारण आवागमन बन्द भएपछि गौरीशङ्कर गाउँपालिकाको पहलमा बेदीङ र ना गाउँका वासिन्दा तथा विद्यार्थीहरूको लागि हेलिकप्टरबाट केही खाद्यान्नका सामग्री भने पु¥याईएको छ ।

गत असार २४ गते दोर्जेफाङगुको फेदमा रहेको भुत ताल विष्फोट भई बाढी आएर डोङनाङको वस्ति बगाएको अनुमान गरिएकोले च्छो– रोल्पा हिमताल पनि जोखिममा छ कि भन्ने त्रास बढेको स्थानीय बत्ताउँछन् । तर खोलाको पुल बगाएको र ठाउँ– ठाउँमा पहिरो गएकोले च्छो– रोल्पा हिमताल भएको ठाउँसम्म पुग्ने अवस्था नरहेको साङ्छोलिङ मनस्ट्री लामा स्कुलका शिक्षक आर्चाय को भनाई छ ।

दोलखा गौरीशङ्कर गाउँपालिकाको वडा नम्बर– ९ मा रहेको च्छो– रोल्पा हिमताल पुग्न सिमिगाँउबाट सुर्मुुचे, क्याल्चेन, डोङ्नाङ, थाङ्मिङ, सन्दर, बेदीङ र ना हुँदै जानुपर्छ । अविरल बर्षाको कारण अहिले डोङ्नाङ भन्दा माथि जान नसक्ने अवस्था रहेको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ का वडा अध्यक्ष ङिमगेली शेर्पाले बताउनुु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button