तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीकोटमा दहीको होली खेलियो

कास्की । श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा मङ्गलवार पोखरा २४ कास्कीकोटमा दहीको होली खेलिएको छ। कास्कीकोट दरबारमा दहीको होली खेलिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट स्थानीयले परम्परागत रुपमा दहीको होली खेलेका हुन् । हरेक वर्ष कास्कीकोटमा दही जात्रा मनाउने चलन छ ।

भगवान् श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्व काल देखि कास्कीकोटमा दही जात्रा हुँदै आएको छ। गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा दहीको होलीमा हजारौँ मानिसहरूको सहभागिता रहेको थियो।

दहीको होली खेल्ने परम्परा अन्य स्थानमा नरहेको भन्दै यो दहीको होली कास्कीकोटमा मात्र रहेको धार्मिक क्षेत्र विकास समितिका सचिव तथा कार्यक्रम संयोजक ठाकुर प्रसाद त्रिपाठीले दाबी गर्नुभयो । पहिलेभन्दा अचेल दही जात्रामा जनसहभागिता कम भएको सचिव त्रिपाठीले सुनाउनुभयो। परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ जात्रा आयोजना गरिएको त्रिपाठीले बताउनुभयो ।

परापूर्वकालमा कास्कीका विभिन्न स्थानबाट दही सङ्कलन हुने गरेको थियो । तर, अहिले कास्कीकोटका स्थानीयले मात्र सङ्कलन गर्छन् । करिब ४ किलोमिटरको यात्रामा जात्रा गरेर नेपाल वृन्दावन धाममा रहेको राधाकृष्ण मन्दिरमा विधिवत् रुपमा जात्रा समापन हुने बासपानी कालिका मन्दिरमा पुजारी तथा जात्राका कर्ता टिका पुरीले बताउनुभयो ।

दही जात्रा सम्पदा संरक्षण मञ्च कास्कीकोट र स्थानीयले सञ्चालन गर्दे आएका छन् । हिन्दु धर्मावलम्वीहरुले श्रीकृष्णको जन्म भएपछि दही जात्रा गर्ने प्रचलन रहेको छ । त्रिपाठीका अनुसार दहीको जात्रा नेपालका ३ स्थानमा मात्र हुने गरेको छ । वीरगन्ज ,पाल्पा र कास्कीकोटमा मात्रै श्रीकृष्णको जन्म भएपछि दहीको जात्रा निकाल्ने गरिन्छ ।

जात्रा संरक्षण तथा प्रवर्द्धन गर्न पोखरा २४ वडा कार्यालयले सघाउने वडाध्यक्ष भरतबहादुर अधिकारीले प्रतिबद्धता जनाउनुभयो । अधिकारीले विगत वर्षहरूभन्दा यस वर्ष जात्रा अझै व्यवस्थित भएको बताउनुभयो ।

ऐतिहासिक स्थल कास्कीस्कोट दरबार, कश्यप धाम र सरुन खेल वाला चर्तुदर्शी लगायतका जात्रा तथा मेलाहरू धार्मिक क्षेत्र विकास समिति र कास्कीकोट सम्पदा संरक्षण समितिको सक्रियतामा हुँदै आएका छन् ।

दही जात्रालाई स्थानीयहरूले दहीको होली एक आपसमा छेपेर मनाउने गरेका छन्। मन्दिरका व्यवस्थापक अमाली खिम बहादुर कार्कीका अनुसार जात्रामा अन्य साँस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button