तपाईँ सुन्दै हुनुहुन्छः

‘कृषि उत्पादनमा बजार व्यवस्थापनमा चुनौती छ’

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.दीपककुमार खरालले कृषि उत्पादनमा बजार व्यवस्थापनको चुनौती रहेको बताउनुभएको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उहाँले उत्पादन गरे पनि बजारमा पुर्‍याउन चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिचौलियाको समस्या छ । उत्पादनकर्ताले मूल्य नपाउने र उपभोक्ताले महँगोमा किन्नुपर्ने बाध्यता छ ।”

बैठकमा मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यक्रम तथा योजना, कार्यसम्पादनमा रहेका समस्या तथा बजेटलगायत विषयमा समितिले जानकारी लिने र समस्या समाधानमा आवश्यक सहजीकरण गर्ने विषयका सम्बन्धमा छलफल चलेको थियो ।

सचिव डा खरालले कृषि क्षेत्रमा बजेट र लगानीको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “कृषि क्षेत्रलाई अझै रोजगारीमूलक बनाउनुपर्ने छ । नगदे बाली निर्यात गर्न सक्षम छौँ, यसमा हामीले प्राथमिकता पनि दिएका छौँ, अलैँची खेती त्यसको राम्रो उदाहरण हो ।”

बैठकमा सांसद बिजुला रायमाझीले रासायनिक मलबाट मानव जीवन र जलवायु परिवर्तनमा प्रतिकूल असर परेकाले जैविक कृषि प्रणालीमा जोड दिनुपर्ने बताउनुभयो । सांसद सम्झना थपलियाले वास्तविक किसानले अनुदान पाउन नसकेका विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसदहरू अमृतलाल राजवंशी, सूर्यकुमारी श्रेष्ठ, सरस्वती सुब्बा, सूर्यप्रसाद ढकाललगायतले व्यावसायिक खेती, किसानलाई सहुलियत कजा, उत्पादन वृद्धि गर्ने सम्बन्धमा आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button