तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रले राष्ट्रियसभाको प्रत्यायोजित विधायन समिति सभापतिमा उम्मेदवारी दिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रियसभा अन्तर्गतको समिति सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा उम्मेदवारी दिने र उम्मेदवारमा सांसद मायाप्रसाद शर्मालाई उठाउने निर्णय गरिएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

बैठकले विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । ती समिति सभापतिको निर्वाचन यही भदौ ३१ गते सोमबार दिउँसो १ बजे हुने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

माओवादी केन्द्रले सहमतिका लागि पहल गर्ने नभए प्रक्रियामा गएर भए पनि विजयी गराउने निर्णय गरेको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो ।

यस्तै, बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं सङ्घीय संसद्मा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउनुभएको थियो ।

माओवादी केन्द्रले आफूहरूले सञ्चालन गरेको ‘जनयुद्ध’ को अपमान गर्ने गरी प्रतिनिधिसभामा पटक पटक अभिव्यक्ति आएको भन्दै सो विषयमा उचित निरूपण नहुँदासम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button