तपाईँ सुन्दै हुनुहुन्छः

रैथाने बाली उत्पादनको ब्राण्डिङमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री थापा 

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रैथाने बाली उत्पादनको ब्राण्डिङमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनु भएको छ । 

साना तथा मझौला व्यवसायी महासङ्घ नेपाल कास्कीले पोखरामा आयोजना गरेको औद्योगिक मेलाको मङ्गलवार समापन समारोहमा बोल्दै उहाँले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न रैथाने बाली उत्पादनलाई ब्राण्डिङ गर्नुुपर्नेमा जोड दिँदै त्यसलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको उल्लेख गर्नु भएको हो । 

गुणस्तरीयतामा ख्याल राख्दै रैथाने बाली उत्पादनको बजारीकरण गर्नुपर्ने बताउँदै मन्त्री थापाले रैथाने बाली उत्पादन र प्रवर्धनमा सरकारले सहयोग गर्ने जनाउनु भएको हो । मन्त्री थापाले साना तथा मझौला व्यवसायीहरूको आत्मबल बढाउने गरी प्रदेश सरकारले नीतिगत निर्णय गरेको दाबी गर्दै सहुलियत ब्याजदरमा बैङ्कबाट ऋणको व्यवस्था मिलाइएको समेत उहाँले जनाउनु भयो । 

उहाँले भन्नुभयो “प्रकृति, संस्कृति, भेषभूषालाई आत्मसात् गर्दै हामीले हाम्रा उत्पादनमा ख्याल गर्नुपर्ने अवस्था आएको छ, हाम्रो आफ्नो रैथाने बाली हाम्रो पहिचान हो अब त्यसको ब्राडिङ गर्ने काममा हामी लाग्नु पर्छ ।” आयत भन्दा पनि निर्यातमुखी बजारीकरणमा ध्यान दिन व्यवसायीलाई उहाँको आग्रह थियो । सानै भए पनि आफ्नै व्यवसायले खुशी मिल्ने बताउँदै मन्त्री थापाले निरन्तरताले नै सफलता मिल्ने दाबी गर्नु भयो । 

कार्यक्रममा साना तथा मझौला व्यवसायी महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष हरिभक्त पराजुलीले साना तथा मझौला व्यवसायीको पिर मर्कालाई बुलन्द बनाउने कार्य गर्दै आएको बताउनु भयो । गण्डकी प्रदेश अध्यक्ष ढाकाराम पौडेलले साना तथा मझौला व्यवसायी महासङ्घमा २५ करोड सम्म लगानी गर्ने व्यवसायी संस्थामा आबद्ध भएको दाबी गर्नु भयो । प्रदेशलाई आर्थिक रुपमा सम्पन्न बनाउन साना तथा मझौला व्यवसायीको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । कास्कीकी अध्यक्ष सिर्जना तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम पोखरा ९ नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा ५ दिनसम्म सञ्चालन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button