तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रदेश सांसद यादव पुर्पक्षका लागि कारागार चलान

महोत्तरी । पूर्व प्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दिइएको छ ।

मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी असई थमन वि.क. हत्या आरोप लागेका पूर्व प्रदेश सांसद कौशल यादवलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको हो ।

जिल्ला अदालत महोत्तरीको बेन्च नं. ७ बाट न्यायाधीश फनेश्वरी घिमिरेले सो आदेश दिनुभएको हो । सो मुद्दामा पूर्व सांसद यादवलाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि थुनामा राख्ने र आगजनी मुद्दामा धरौटी माग गर्ने आदेश समेत भएको छ ।

मधेश आन्दोलनको क्रममा मारिएका सशस्त्र असई विकको हत्या आरोपमा पूर्व सांसद यादवको हकमा मुद्दा मुल्तबीमा राखिएकोमा अर्कै घटनामा पक्राउ परेका पूर्व सांसद यादवलाई थमन हत्या मुद्दामा अदालत पेश गरिएको थियो । उक्त मुद्दाको सक्कल मिसिल उच्च अदालत जनकपुरमा रहेकोले मिसिल आएपछि मुद्दा मुल्तबीबाट जागेर थुनछेक बहस सुरु भएको थियो । सोही बहसपछि अदालतले यादवलाई पुर्पक्षमा थुनामा राख्नु भनि आदेश दिएको हो ।

तेस्रो मधेश आन्दोलनको समय हत्या गरिएका सशस्त्र प्रहरी असई थमन वि.क.को हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीले प्रदीप साह माझी र संजय कुमार साह सहित मोहन ठाकुर,जलेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख शङ्कर शाही भन्ने रामशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, लोसपा नेता सुरेश पाण्डेय र धर्मेन्द्र रायलाई ज्यान सम्बन्धी महलको १ र १३ (३) नं. बमोजिम कसुर गरेकोले सोही १३(३) बमोजिम जन्मकैदको फैसला सुनाइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button