तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक: मन्त्रालयगत शीर्षकहरूमाथि छलफल सुरु 

काठमाडौँ । राष्ट्रिय सभामा विनियोजन विधेयक,२०८१  अन्तर्गत मन्त्रालयगत शीर्षकहरूमाथि छलफल सुरु भएको छ । 

शीर्षकगत छलफलमा प्रतिपक्ष दलका सांसदहरुले  बजेटले सङ्घीयताको मर्म बमोजिम सबै क्षेत्र,निकाय र समुदायलाई समेट्न नसकेको  बताउनुभयो ।

सांसद्हरुले बजेटमा आर्थिक अनुशासन पालना नभएको,टुक्रे योजना राखिएको, कृषि,पर्यटन, व्यापारमा लगानी गरी रोजगारी सिर्जना गर्न पर्याप्त बजेट विनियोजन नभएको बताउनुभयो । 

छलफलमा सत्ता पक्षका सांसदहरुले सीमित स्रोतसाधनकाबिच आर्थिक अवस्था अनुकूलको सन्तुलित बजेट आएको बताउनुभयो ।

सांसदहरुले सुशासन, सामाजिक न्याय र रोजगारी सिर्जनामा  बजेट केन्द्रित भए पनि समग्र जनअपेक्षालाई सम्बोधन गर्न नसकेको धारणा राख्नुभयो ।

बैठकमा सांसद किरणबाबु श्रेष्ठले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन विधेयकका शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव राख्नुभएको छ । 

आजको बैठकमा वन तथा वातावरण मन्त्रालय,महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय,उद्योग  वाणिज्य तथा आपूर्ति  मन्त्रालय,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयगत शीर्षकहरूमाथि छलफल भइरहेको छ ।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक,२०८१लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button