तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाका नवनियुक्त सचिव अधिकारीद्वारा शपथ ग्रहण 

काठमाडौँ । प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसद्को कामलाई व्यवस्थित र पारदर्शी बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।

बुधबार सभामुख देवराज घिमिरेबाट प्रतिनिधि सभा सचिवको रुपमा शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले संसद्को कामलाई व्यवस्थित गर्न भूमिका खेल्ने बताउनुभएको हो ।

उहाँले आफ्नो काम सभामुखको काममा सहयोग गर्ने भएको भन्दै सभामुखलाई सहयोग गरेर अगाडी बढ्ने बताउनुभयो । उहाँले संसद्को काम, कारबाहीलाई पारदर्शी बनाउनका लागि पनि आफ्नो सहयोग र भूमिका रहने बताउनुभयो ।

सचिव अधिकारीले भन्नुभयो,  ‘‘मेरो मुख्य भूमिका भनेको प्रतिनिधि सभाको कामलाई व्यवस्थित गर्नको लागि सघाउ पुर्‍याउनु हो । र सम्माननीय सभामुखज्यूको काममा सहयोग गर्ने, संसदमा प्रस्तुत हुने एजेन्डाहरूको बारेमा अध्ययन गर्ने र पेश गर्ने लगायतका कामहरू पर्छन् । सभामुखलाई सहयोग गर्ने, संसद्का काम, कारबाहीलाई व्यवस्थित गर्नु, पारदर्शी बनाउनको लागि मेरो सहयोग र भूमिका रहनेछ ।’’

सचिव अधिकारीले बुधबार सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । उहाँलाई सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार प्रतिनिधि सभा सचिवमा नियुक्त गर्नुभएको हो । सचिव अधिकारी कोशी प्रदेश, सङ्खुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा न-२ स्थायी निवासी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button