तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीको उद्धार टोलीलाई उद्धार सहायता सामग्री प्रदान

झापा । झापाको कमल गाउँपालिकाले खोला बाढीको सम्भावित विपद्मा परेकाहरूको उद्धारमा सहयोगका लागि सशस्त्र प्रहरीको उद्धार टोलीलाई विपद् सहयोग तथा उद्धार सहायता सामग्री प्रदान गरेको छ ।

गाउँपालिकाले बर्षायामसँगै गाउँपालिका भित्र पर्न सक्ने बाढीको जोखिम न्युनिकरण गर्दै आइपर्न सक्ने उद्धार कार्यमा सहयोग पुर्‍याउने अपेक्षासहित कूल १ लाख ७९ हजार रुपैयाँ बराबरका उद्धार सहायता सामग्री प्रदान गरेको हो ।

गाउँपालिका अध्यक्ष हुकुमसिंह राईसहित उपाध्यक्ष प्रमिला न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले ती सामग्री सशस्त्र प्रहरी उपरीक्षक (एसपी)  पाथीभरा गणका गणपति निवनकुमार खड्कालाई हस्तान्तरण गरेका छन् ।

प्रदान गरिएका सामग्रीहरूमा बाढीमा परेकाको उद्धारमा आवश्यक ट्युब, लाइफ ज्याकेट, स्विमिङ हेल्मेट, रक हेल्मेट, वेज थ्रो ब्याग, डोरी, लाइट १३ प्रकारका रहेका छन् । कमल गाउँपालिका भएर बग्ने रतुवा र कमल खोला मुख्य हुन् । यसबाहेक ढ्याङ्री खोला र अन्य खोल्सीहरू समेत छन् । रतुवा र कमलमा आउने बाढीका कारण बर्सेनि कमल गाउँपालिका र आसपासका क्षेत्रमा सर्वसाधारण पीडित हुने गरेका छन् ।

खोला प्रभावित क्षेत्रमा बाँसको पाइलिङ कटान जोखिम न्युनिकरण गर्न सहयोगी जैविक तटबन्धन गरिँदै आएको छ । यस बर्ष समेत प्रदेश सरकारको बजेटबाट कमल-५ को उत्तरी क्षेत्रमा बाँसको पाइलिङ निर्माणको योजना अघि बढाइएको छ भने यी खोलाहरूबाट हुने क्षतिको दीर्घकालीन समाधानका लागि माथिल्लो तहका सरकारसँग योजना माग गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button