तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको कोहलपुरमा १७४ जना क्षयरोगीका नयाँ बिरामी फेला

बाँके । कोहलपुर नगरपालिकामा चालू आर्थिक वर्षमा १७४ जना क्षयरोगी (टिबी)का नयाँ बिरामी फेला परेका छन् ।

कोहलपुरमा उपचार पुरा गर्ने दर ९४.९ प्रतिशत रहेको छ । नयाँ बिरामी पत्ता लगाउने दरप्रति लाखमा १६३ जना रहेको पाइएको छ । मृत्युदर भने १.९ रहेको छ । चालू आर्थिक वर्षमा फेला परेका नयाँ क्षयरोगीमध्ये कतिपय नियमित औषधि सेवनपछि निको भइसकेका छन् । एक जनालाई नेपालगन्ज टिबी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

२२ जना बिरामीहरूलाई नियमित पोषण सामाग्री वितरणको काम भइरहेको छ । उनीहरुलाई ६ महिनासम्म पोषण सामाग्री वितरण गर्ने कार्यक्रम छ । निम्न आयस्तर भएका, गरिब, विपन्न तथा असक्तहरूलाई उनीहरूको पोषणमा सुधार ल्याउन पोषण सामाग्री वितरण गर्ने गरिएको नगरपालिकाले जनाएको छ । क्षयरोग संक्रमण पुष्टि भएकाहरू नियमित औषधि सेवन गरिरहेको कोहलपुर नगरपालिका क्षयरोग मुक्त अभियानका फोकल पर्सन प्रेम पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले २०५० सम्म क्षयरोग अन्त्यको लक्ष्य राखेको छ ।

त्यहीअनुसार कोहलपुर नगरपालिकाले पनि क्षयरोग अन्त्यका लागि जनचेतना, प्रारम्भिक जाँच र व्यवस्थापनका कार्यक्रमलाई प्राथमिकता दिएर अभियान चलाइरहेको छ । कोहलपुरका १५औँ वटा वडामा डट्स सेन्टर छन् । वडामा क्षयरोग संक्रमण पुष्टि भएका बिरामीहरूले वडामै रहेका डट्स केन्द्रबाट नियमित औषधि सेवन गरिरहेको पाण्डेको भनाइ छ । कोहलपुर नगरपालिकामा क्षयरोग पहिचानका लागि प्रत्येक वडामा क्षयरोग स्वयंसेवक परिचालन गरिएको छ । उनीहरूले घर घरमा पुगेर क्षयरोगका बिरामीहरू खोज्ने गर्छन् ।

शङ्कास्पद लक्षण चिन्ह देखिएका बिरामीको खकार चेकजाँचका लागि नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल तथा टिबी अस्पताल पठाउने गरेको कोहलपुर नगरपालिका क्षयरोग मुक्त अभियानका संयोजक रमेश भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार क्षयरोग अन्त्यका लागि कोहलपुर नगरपालिकाले वडास्तरमा सुरक्षा योजना निर्माण तथा प्रगति समीक्षा बैठक गर्ने, नगर प्रमुखको संयोजकत्वमा पालिका स्तरीय र वडा अध्यक्षको संयोजकत्वमा वडास्तरीय समिति गठन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button