तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा विद्यार्थीको उमेर बढेसँगै विद्यालय भर्ना दर घट्दै

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा पूर्व प्राथमिक कक्षा भर्ना भएका विद्यार्थीहरूको सङ्ख्या उच्च भएपनि त्यसपछिको कक्षामा घट्ने गरेको तथ्याङ्क रहेको छ । 

पूर्व प्राथमिक तहमा भर्नाका लागि ३ देखि ४ वर्षका बालबालिकाहरू आउने गरेका छन् । नेपालमा यो उमेर समूहका बालबालिकाको भर्ना प्रतिशत ९४.९ प्रतिशत रहेपनि मधेश प्रदेशमा ९९.४ प्रतिशत रहेको छ । 

यो उमेर समूहका विद्यार्थी भर्नामा मधेश प्रदेश अग्र स्थानमा भएपनि त्यसपछि विद्यार्थीहरूको भर्ना दर घट्ने गरेको मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव महेन्द्र महतोले जानकारी दिनु भएको छ । 

विद्यार्थीहरू ठूलो भएपछि अभिभावकले अन्य काममा प्रयोग गर्ने भएका कारणले विद्यार्थीहरूको विद्यालय भर्ना हुने क्रममा कमी आउने गरेको छ । ४ वर्ष उमेर समूह माथि भर्ना हुने प्रारम्भिक वाल विकास तथा शिक्षा केन्द्रमा राष्ट्रिय स्तरमा विद्यालय भर्ना हुने प्रतिशत ७०.५ रहेको छ भने मधेश प्रदेशमा ६८.२ प्रतिशत रहेको छ । यो भर्ना दर पनि सातै प्रदेश भन्दा मधेश प्रदेशमा न्यून रहेको छ । 

यसै गरि कक्षा १ मा भर्ना हुनेको प्रतिशत मधेश ६२.५ प्रतिशत रहेको छ भने राष्ट्रिय स्तरमा भर्ना हुने प्रतिशत ७६.७३ प्रतिशत रहेको छ । कक्षा १ मा मधेश प्रदेशमा भर्ना हुने प्रतिशत पनि सातै प्रदेशमा सबैभन्दा न्यून रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button