तपाईँ सुन्दै हुनुहुन्छः

झापामा १० किलोमिटर खुल्ला दौड प्रतियोगिता हुँदै

झापा । झापामा १० किलोमिटर खुल्ला दौड र ५ किलोमिटर स्थानीय दौड प्रतियोगिता हुने भएको छ ।

मानव हित संरक्षण मञ्च नेपालको मुख्य आयोजना र अखिल नेपाल खेलकुद महासङ्घको आयोजनामा स्वास्थ्य, भातृत्व र पर्यटन प्रवद्र्धनका लागि खेलकुद भन्ने नारासहित असार २१ गते झापाको दमक नगरपालिका–९ स्थित भाटभटेनी सुपर मार्केट परिसरबाट शुरु हुने दौड प्रतियोगिताको समापन कमल गाउँपालिका–३ स्थित पूर्व जनमुक्ति सेना नेपालद्वारा निर्मित सहिद गेटस्थलमा हुने जनाइएको छ ।

खुल्ला दौडमा नेपाल, भारत, भुटानका समेत करिब ५ सय धावकहरूले सहभागिता जनाउने आयोजक संस्थाले अपेक्षा गरेको छ ।

दौडमा सहभागिताका लागि १७ असार गते देखि नै नाम दर्ता शुरु भएकाले इच्छुक सबैलाई सहभागिताको सुनिश्चितताका लागि नाम दर्ता गराउन आयोजकले आग्रह गरेको छ ।

दमकमा आयोजित पत्रकार सम्मेलनमा आयोजक मानवहित संरक्षण मञ्च खेलकुद समितिकी संयोजक समुन्द्रा लामाले दौड प्रतियोगितामा सहभागी भई छैटौँ स्थानसम्म हासिल गर्ने धावकलाई नगद ५० हजारदेखि २ हजारसम्म पुरस्कार राशि राखिएको जानकारी दिनुभयो ।

वन, वातावरण तथा पर्यटन मन्त्रालयको सहयोगमा आयोजना गर्न लागिएको प्रतियोगिताको १० किलोमिटर तर्फको खुल्ला दौडमा देश विदेशका विभिन्न महिला र पुरुष दुवै समूहबाट प्रथम हुनेले नगद ५० हजार, द्वितीयले नगद २५ हजार, तृतीयले नगद १५ हजार, चौथोले नगद ५ हजार, पाँचौँले नगद ३ हजार र छैटौँ हुनेले २ हजार रुपैयाँ पुरस्कार पाउन छन् ।

त्यसैगरी, स्थानीय तर्फको ५ किलोमिटर दौड प्रतियोगिता भाटभटेनी परिसरबाट शुरु भई आदिवासी रंगशाला कमल गाउँपालिका–५ सम्म पुगेर टुङ्गिनेछ ।

सो प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्वितीयले १० हजार, तृतीय हुनेले ५ हजार, चौथोले २ हजार र पाँचौँले १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button