तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्न तयारी भइरहेको छ : मन्त्री यादव

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्न तयारी भइरहेको बताउनुभएको छ ।

आज स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उहाँले देशभर करिब ९२ हजार स्वास्थ्य जनशक्तिको दरबन्दी बढाउन सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जनशक्ति बढाउन हामी काम गरिरहेका छौँ । त्यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाएका छौँ । यो कार्यान्वयन भयो भने धेरै समस्या हल हुन्छन् ।”

फरक प्रसङ्गमा मन्त्री यादवले जनशक्ति अभाव भएका बेला करारमा पनि दक्ष व्यक्तिलाई काम लगाउन अस्पताललाई निर्देशन दिइएको बताउनुभयो ।

“जनता निरास छन् । शय्या पाएका छैनन् । फार्मेसीमा औषधि पाइँदैन । शल्यक्रियाका लागि समय नपाउने समस्या छ । सोर्स लगाउनुपर्ने अवस्था छ, त्यस्तो अवस्थाको अन्त्यका लागिपरेको छु”, स्वास्थ्य मन्त्रीले भन्नुभयो ।

उहाँले अस्पताल तथा फार्मेसीको अनुगमनले काम गर्ने ऊर्जा दिएको र स्वास्थ्य क्षेत्रको वास्तविक अवस्थालाई नियाल्न पाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button