तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरमा राष्ट्रिय परिचयपत्र लिनेको भिड

बाँके । सरकारले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै ईलाका प्रशासन कार्यालय कोहलपुरमा राष्ट्रिय परिचयपत्र लिनेको भिड लाग्न थालेको छ ।

आगामी साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य प्रयोगमा ल्याउनुपर्ने समय सीमा तोकेपछि राष्ट्रिय परिचयपत्र लिनेको भिड लाग्न थालेको हो ।

ईलाका प्रशासन कार्यालय कोहलपुरमा नयाँ नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नागरिकताको प्रतिलिपि लिनेको भिड बढ्दै जाँदा ठाउँ अभाव भएपछि कोहलपुर नगरपालिका वडा नं.११ ले राष्ट्रिय परिचयपत्र लिन आउने सेवाग्राहीलाई सहजताका लागी वडाको हल उपलब्ध गराई सेवा प्रवाह गरिरहेको छ ।

साउन १ गतेदेखि वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता लिनका लागि पनि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र चाहिने भएपछि पछिल्लो समय सेवाग्राहीको भिड बढ्दै गएको छ ।

ईलाका प्रशासन कोहलपुरमा ठाउँ अभाव भएकोले वडाको हल उपलब्ध गराई सेवा प्रवाहलाई सहज बनाएको कोहलपुर नगरपालिका वडा नं.११ का वडाध्यक्ष कल्पना शर्मा अधिकारीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाएको कारणले गर्दा ईलाका प्रशासन कार्यालय कोहलपुरमा परिचयपत्र लिनेको भिड बढेकोले ठाउँ र जनशक्ति अभाव लाई मध्यनजर गर्दै वडाको एक जना कर्मचारीलाई सहजिकरणमा खटाई यही असार ५ गतेदेखि वडाको हलबाट सेवा प्रवाह भइरहेको शर्माले बताउनुभयो ।

वडाबाट पनि सेवा प्रवाह भएपछि दैनिक जसो ८० देखि ९० जनाले लाभ लिइरहेको ईलाका प्रशासन कार्यालयका विवरण दर्ता अपरेटर श्याम बहादुर बोहोराले बताउनुभयो ।

“प्रशासन र वडामामा राष्ट्रिय परिचयपत्र बनाउनेको बिहानैदेखि भिड जम्मा हुने गर्छ”, बोहाेराले भन्नुभयो, “५ गतेदेखि वडाको हलबाट सेवा सञ्चालन गर्दा सेवाग्राहीसँगै आफूहरूलाई पनि सेवा प्रवाह गर्न सहज भएको छ ।

“वडा कार्यालयको हल बाट सेवा प्रवाह हुँदा वडाबाट मात्रै दैनिक ३० देखि ३५ जनाको परिचयपत्र बनाउने गरेका छौँ”, उहाँले भन्नुभयो ।

बाँकेको कोहलपुर, बैजनाथ र राप्तीसोनारीबाट दैनिक राष्ट्रिय परिचय पत्र बनाउनेको भिड लाग्ने गर्दछ । जसमध्य ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरू बढी आउने भएकोले उहाँहरूको अवस्था हेरी सहज वातावरणमा सेवा प्रवाह भइरहेको बोहोराले बताउनुभयो ।

कुनै प्राविधिक त्रुटि नभएमा ईलाका प्रशासन र वडा कार्यालयबाट दैनिक ९० देखि एक सय जनालाई सेवा दिइरहेको पनि उहाँले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button