तपाईँ सुन्दै हुनुहुन्छः

युवा पुस्तामा विदेश जाने हुटहुटी चलेको छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नयाँ पुस्तामा घर बेचेरै भएपनि विदेश जाने लहर चलेको धारणा व्यक्त गर्नुभएको छ ।

प्राडा सुरेन्द्र केसीद्वारा लिखित पुस्तक ‘स्मृति र अनुभूति’ विमोचन समारोहमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पछिल्लो समय युवामा कक्षा १२ पढेपछि जसरी पनि विदेश जाने मानसिकता हाबी भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थीमा मात्रै होइन अभिभावकमा पनि छोराछोरीलाई जसरी भए पनि विदेश पढाउने हुटहुटी चलेको छ, तर पहिले यस्तो थिएन ।” उहाँले प्राडा सुरेन्द्र केसीद्वारा लिखित पुस्तक ‘स्मृति र अनुभूति’ पठनीय भएको भन्दै पुस्तकमा समेटिएका विषय मननयोग्य भएको उल्लेख गर्नुभयो । विसं २०१२ सालदेखि अहिलेसम्म कति ठूलो परिवर्तन आयो, पहिले र अहिलेको पढाइको अन्तर पुस्तकमा समेटिएको उहाँको भनाइ थियो ।

लेखक प्राडा केसीले ५० लाखभन्दा धेरै जनसङ्ख्या देश बाहिर रहेको अवस्थामा मुलुकमा सङ्कट आए कसले बचाउने भन्दै प्रश्न गर्नुभयो । उहाँले यी विषय पनि पुस्तकमा समेटिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मैले विभिन्न विषय समेटेर यो पुस्तक लेखेको छु, विचार के हो रु सिद्धान्त के हो रु पुस्तकमा समेट्ने प्रयास गरेको छु ।”

पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता भीम रावलले प्राडा केसीको पुस्तक युवा पुस्ताका लागि उपयोगी भएको भन्दै शुभकामना दिनुभयो ।

पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनी, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा इतिहासविद् प्राडा त्रिरत्न मानन्धर, सविता बस्नेत केसी, चिकित्सक सुन्दरमणि दीक्षितले प्राडा केसीको पुस्तक ‘स्मृति र अनुभूति’बारे धारणा राख्दै शुभकामना समेत दिनुभएको थियो ।

आयोजक सुनौलो नेपाल अनलाइनका कार्यकारी अध्यक्ष मोहराज पौडेलले त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गर्नुभएका प्राडा केसी नेपालको राजनीतिक एवं सामाजिक क्षेत्रमा बुद्धिजीविका रुपमा स्थापित भएको बताउनुभयो ।

“भ्रष्टाचार माथिबाट बढार्नुपर्छ भने झैँ प्राडा केसीले भ्रष्टाचारजन्य विकृतका लागि ठूला नेतामाथि औला ठड्याउँदै आउनुभएको छ”, उहाँले भन्नुभयो, “प्राडा केसीको यस पुस्तक नेपाली समाज र राजनीति बुझ्न चाहने सबैका लागि महत्वपूर्ण दस्ताबेजमा विश्वास छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button