तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा लिची उत्पादन कमी

गुल्मी । गुल्मीमा लिची उत्पादनमा कमी आएको छ ।

यसवर्ष लामो समयसम्म खडेरी र बगैँचा व्यवस्थापनको अभावमा उत्पादन घटेको हो ।
गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका अन्तर्गत वडा नम्बर १, ३ का च्यूरेक, थोर्गा थानपतीमा र रुरुक्षेत्र वडा नम्बर–४ को सेउघामा किसानले लिची खेती गर्दै आएका छन् ।

पछिल्ला केही वर्षयता लिची उत्पादनमा व्यावसायिक रुपमा लागेका किसानहरू लिचीमा लाग्ने रोग किराका कारण समस्या हुनुका साथै लिचीको उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् ।

च्यूरेक थोर्गामा २०३६ सालबाट लिची खेतीको सुरुवात गरिएको हो । अहिले यस क्षेत्रमा उत्पादन भएको लिची किसानले १ सय रुपैयाँमा बेच्ने गर्दछन् । तर बजारमा भने लिची दुई सयदेखि २५० सम्म प्रतिकिलो खरिद बिक्री भइरहेको छ । यसले गर्दा उत्पादन गर्ने कृषकहरू मर्कामा पर्ने गरेको रुरुक्षेत्र गाउँपालिका–१ थोर्गाका धनश्याम ज्ञवालीले बताउनुभयो ।

यसवर्ष त्यस स्थानमा ५४७ मेट्रिकटन लिची उत्पादन भएको छ । लिचीमा लाग्ने रोग किराको उपचारको लागि काठमाडौँस्थित बागबानी अनुसन्धान केन्द्र मालेपाटनबाट कृषि विज्ञको टोलीले अनुसन्धान गर्न थालनी गरेको भण्डारीले बताउनुभयो ।

पाकेको तुरुन्तै नबेच्ने हो भने झर्ने, कुहिने, अरिङ्गाल लाग्ने गर्दछ । लिची पानी पर्न थालेपछि कुहिएर झर्दछ । रुरुक्षेत्र र रेसुङ्गा नगरपालिकाको सेघामास्थानमा झण्डै १४३ भन्दा बढी कृषकले घर छेउ र बारीमा लिची लगाएका छन् ।

नेपालको तराइदेखि लिएर भित्री मधेस तथा मध्य पहाडका जिल्लाहरूको तल्लो भू–भाग, खोँच, नदी किनार तथा टार आदि क्षेत्रमा लिचीको खेतीको प्रशस्त सम्भावना रहेको छ । सामुन्द्रिक सतहदेखि १ हजार मिटर उचाइसम्म सजिलैसँग यसको उत्पादन गर्न सकिन्छ ।

जिल्लाको रुरुक्षेत्रको च्यूरेक, थोर्गामा यसवर्ष लिची उत्पादनमा कमी आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button