तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा राष्ट्रिय धान दिवस मनाइँदै

चितवन । हरेक वर्ष असार १५ गते मनाइँदै आएको राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव यस वर्ष चितवनमा मनाइने भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनको धान जोन क्षेत्रको बछौलीमा प्रधानमन्त्रीको सहभागितामा रोपाई महोत्सव मनाउन लागिएको हो ।

भरतपुरमा आज आयोजित पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिका वडा नम्बर ७ बछौलीमा महोत्सव मनाउने तयारी गरिएको आयोजक समितिका संयोजक एवं कृषि विभागका महानिर्देशक नरहरी प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा धान रोप्ने मेसिनले १ हेक्टर क्षेत्रफलमा धान रोपिने छ । बछुली बहुउद्देश्यीय कृषि समूहको आयोजनामा गर्न लागिएको महोत्सवमा कृषि क्षेत्रमा आधुनिकीकरणको विषयमा समेत जानकारी दिइने छ ।
कार्यक्रममा जलवायु मैत्री तथा जलवायु परिवर्तनसँग जुध्न सक्ने धानका जातहरूको बारेमा समेत जानकारी दिइने उहाँले बताउनुभयो । महोत्सवमा सुख्खा क्षेत्र सहन सक्ने ६ जात र डुबान सहन सक्ने २ जातका धानको बारेमा समेत जानकारी गराइने जनाइएको छ ।

अहिले मनसुन ढिला शुरु हुँदा कतै बीउ राख्ने त कतै रोपाई गर्ने अवस्था सृजना भएको छ । धान रोपाइँमा मेसिनको प्रयोग गर्न सके कृषकलाई समय र खर्च समेत कम हुनेछ । “प्रविधिको प्रयोग गरेर कृषि कर्म गरे ३० प्रतिशत सम्म उत्पादन बढ्ने छ ।” महानिर्देशक घिमिरेले भन्नुभयो ।

जिल्लामा अहिले पाँच वटा मेसिनबाट धान रोपाई हुँदै आएको छ । एक बिगाहा क्षेत्रफलमा धान रोप्दा रु ५ हजार मात्र खर्च हुने भएकाले हरेक दृष्टिकोणबाट समेत पलदायी हुने महानिर्देशक घिमिरेले बताउनुभयो ।

जलवायु परिवर्तनको असरको न्यूनीकरणका लागि प्रविधिको बिकास भए पनि यसको प्रयोगका बारेमा जानकारी नहुँदा समस्या हुने गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा हालसम्म १४ प्रतिशत धान रोपाई सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

चितवनमा २२ हजार ८७० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिँदै आएको छ । पूर्वी चितवन र पश्चिम चितवनको माडी क्षेत्रमा धान रोपाई भइरहेको कृषि कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वी क्षेत्रमा असार पहिलो साताबाट धान रोपाई सुरु भएको छ भने पश्चिम क्षेत्रमा असार अन्तिम साताबाट रोपाई शुरु हुनेछ । सिंँचाईका लागि धान जोन क्षेत्रमा ८० प्रतिशत व्यवस्थापन भइसकेको छ । अन्य क्षेत्रमा समेत सिँचाइका लागि बोरिङ जडानको काम भइरहेको भए पनि नहरबाट पानी लाग्ने ठाउँहरूमा ढिला हुने गरेको प्रमुख कँडेलले बताउनुभयो ।

जिल्लामा सञ्चालित धान जोन क्षेत्रमा ५० प्रतिशत रोपाई सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको ८ हजार ५ सय हेक्टर क्षेत्रफल धान जोनको रुपमा विकास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button