तपाईँ सुन्दै हुनुहुन्छः

मदनभण्डारी मेमोरियल कलेजलाई विश्वविद्यालय बनाउन सकारात्मक सहयोग रहन्छ: सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले मदन भण्डारी कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो तर्फबाट सकारात्मक सहयोग रहने बताउनुभयो । 

बानेश्वरस्थित मदनभण्डारी मेमोरियल कलेजको २३औँ वार्षिकोत्सवको उद्घाटन गर्नुहुँदै सभामुख घिमिरेले पछिल्लो समय शिक्षा सरल, सुलभ र पहुँचयोग्य बनाउन समस्या उत्पन्न भएकाले यस कलेजमा सबैको पहुँच पुग्ने गरी व्यवस्थापन गरिनुपर्ने धारणा राख्नुभयो । “मदनभण्डारी कलेजलाई विश्वविद्यालय बनाउने योजनामा मेरो सधैँ सकारात्मक सहयोग रहन्छ । शिक्षालाई व्यावहारिक बनाउने नीति ल्याउन पनि म संवेदनशील छु”, उहाँले भन्नुभयो । 

सभामुख घिमिरेले जननेता मदन भण्डारी जस्तो द्वन्द्वात्मक भौतिकवादी चेत भएका नेतालाई भावी पुस्ताले अनुसरण गर्नुपर्ने सुनाउनुभयो । ३० वर्षअघि रहस्यमय मृत्युवरण गर्नुभएका भण्डारीले समाज रुपान्तरणको दर्शन अनुसरण योग्य भएको उल्लेख गर्नुहुँदै उहाँले भण्डारीका विचारलाई बुझाउने र बुझ्ने दक्ष जनशक्ति निर्माण गर्न आवश्यक रहेकामा जोड दिनुभयो । 

त्यसअवसरमा उत्कृष्ट एवं स्वर्णपदक पाउनुभएका विद्यार्थीलाई सम्मान गरिएको थियो । कलेजका प्राचार्य डा बाबुराम अधिकारीले २३ वर्षको अवधिमा कलेजको शैक्षिक गुणस्तरमा निरन्तर सुधार हुँदै गएको बताउनुभयो । त्यसैकारण देशका पाँच उत्कृष्ट कलेजमा पर्न सफल भएको उहाँले बताउनुभयो । कार्यक्रममा कलेजको ट्रान्सफर्मेसन इ–बुलेटिन र स्काउट कार्यक्रमसमेत उद्घाटन गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button