तपाईँ सुन्दै हुनुहुन्छः

वृक्षारोपण समृद्धिका लागि हुनुपर्छ: मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वृक्षारोपण रोप्नका लागि मात्र रोप्ने नभई समृद्धिका लागि हुनु पर्ने बताउनु भएको छ । 

डिभिजन वन कार्यालय सुर्खेतले आज वीरेन्द्रनगरमा सुरु गरेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ को शुभारम्भ गर्नुहुँदै मुख्यमन्त्री कँडेलले वृक्षारोपण गरेपछि बेवास्ता गर्ने अहिलेसम्मको अवस्थालाई अब बदल्न आवश्यक रहेको औँल्याउनु भएको हो । उहाँले सरकारी स्तरबाट गरिएका कार्यहरू क्या राम्रो हुँदा रहेछन् भन्ने अनुभूति हुने गरी वृक्षारोपण कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भयो । 

वृक्षारोपण गरेर मात्र नपुग्ने हुँदा रोपेका बिरुवाहरूको उचित हेरचाह, संरक्षण दिगो व्यवस्था गर्ने कार्य सबैको जिम्मेवारी भएको उहाँको भनाइ थियो । वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालयले वीरेन्द्रनगर–११, सुब्बा कुनादेखि वीनपाकै वडा नम्बर -१, बाङ्गेसीमलसम्मको रोडको डिभाइडरमा ‘भावी सन्तति र समृद्धिका लागि वृक्षारोपण भन्ने मूल नाराका साथ स्वामी, कल्की फूल, पारिजात लगायतका सौन्दर्यमूलक प्रजातिका वृक्षहरू रोप्ने कार्य सुरु गरेको छ । कार्यालयले अघि सारेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ मा सहकार्य तथा समन्वयका लागि वातावरण प्रेमी व्यक्तित्वहरूसँग हातेमालो गर्न आग्रह गरिएको डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँले ११ दिने प्रदेश राजधानी वृक्षारोपण कार्यक्रम अन्तर्गत ट्रि-गार्डसहित १ हजार १ सय ११ वटा बिरुवा वीरेन्द्रनगरका मुख्य सडकहरूका डिभाइडरमा रोपिने लक्ष्य रहेको बताउनु भयो । २० लाख लागतको उक्त कार्यक्रमबाट रोपेका बिरुवाहरूको उचित हेरचाह र संरक्षणका लागि ‘वन हेरालु’ समेत परिचालन गरिने उहाँको भनाइ थियो । 

वृक्षारोपण कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतलगायत वातावरण प्रेमीहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button