तपाईँ सुन्दै हुनुहुन्छः

उत्कृष्ट कृषकलाई सम्मान 

गुल्मी । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाले व्यावसायिक रुपमा काम गर्दै आएका कृषकलाई सम्मान गरेको छ । नीति तथा कार्यक्रम अनुसार गाउँपालिका भित्रका उत्कृष्ट १६ जना कृषकलाई सम्मान गरेको हो ।

पालिका भित्रका कृषकहरूलाई प्रोत्साहन गर्नका लागि पालिका स्तरीय र वडा स्तरीय १६ जना कृषकहरूलाई सम्मान गरिएको पशुपंक्षी बिकास शाखाका प्रमुख नारायण खनालले जानकारी दिनुभयो । पालिका स्तरीय उत्कृष्ट आठ जना कृषकलाई नगद छ हजार र वडा स्तरीय आठ जना कृषकहरूलाई नगद पाँच हजार र प्रमाणपत्रले सम्मान गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले  व्यावसायिक कृषिमा उल्लेखनीय काम गरेको भन्दै कृषकहरूको मनोबल बढाउन गाउँपालिकाले कृषकहरूलाई सम्मान गरेको बताउनुभयो । ब्यबसायीक रुपमा कृषि र पशुपालन गर्नेका लागि पालिका सधैँ साथमा रहेको बताउनुभयो ।  कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले तीनै तहका सरकारले ब्यबसायीक रुपमा कृषी र पशुपालनलाई जोड दिनुपर्ने बताउनुभयो । युवाहरूलाई स्वदेशमै टिकाई राख्नका लागि ब्यबसायीक कृषि र पशुपालनै उत्तम रहेको उहाँको भनाई छ ।

सत्यवती गाउँपालिका-७ चिदीपानीकी भुपा भुसालले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले विगत ३ वर्षदेखी तरकारी खेती गर्दै आउनुभएको छ । आफूले गरेको कामको स्थानीय सरकारले सम्मान गरेर थप काम गर्ने ऊर्जा प्राप्त भएको उहाँको भनाई रहेको छ । 

त्यस्तै सत्यवती गाउँपालिका ८ भार्सेका दुर्गा बुढाथोकीले सुन्तला खेती गर्नुभएको छ । उहाँको बगैँचामा उत्पादन भएको सुन्तला विभिन्न ठाउँमा बिक्री हुने गर्दछ । उहाँलाई स्थानीय सरकारले सम्मान गर्दा खुशी सँगै उत्साहित भएको बताउनुभयो । 

पालिका स्तरीय उत्कृष्ट कृषकहरूमा तुलसीराम पाण्डे,प्रेम शाही,कृष्णलाल न्यौपाने, रणबहादुर पुन, दुर्गाबहादुर बुढाथोकी,धनबहादुर पुन, थम्मनप्रसाद भट्टराई र जगन्नाथ ढकाललाई सम्मान गरिएको हो । यस्तै वडा स्तरीय उत्कृष्ट कृषकहरूमा तारा तरामु खत्री,सोमप्रसाद पाण्डे,इन्द्रबहादुर बिक,भोजराज ज्ञवाली,खगेश्वर ढकाल,छविलाल ढकाल,भुपा भुसाल र प्रेमप्रसाद पुनलाई सम्मान गरिएको हो । सोही कार्यक्रममा  दैनिक २० लिटर भन्दा बढी दूध उत्पादन गर्ने १० जना कृषकलाई क्यान पनि वितरण गरिएको छ ।

पालिका भित्रका कृषकहरूलाई प्रोत्साहन गर्नका लागि सम्मान कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button