तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश-मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल हेरफेर

३ मन्त्रालय विभाजन गरी ९ मन्त्रालय कायम

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले मन्त्रिमण्डल हेरफेर गर्नु भएको छ ।

मुख्यमन्त्री सोडारीले पाँचजना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकेर मन्त्रिमण्डल हेरफेर गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गाना अनुसार मुख्यमन्त्री सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले मन्त्रीहरूको कार्य विभाजन गर्नु भएको छ ।

जसमा अक्कल बहादुर रावल जनस्रोत तथा शहरी विकास मन्त्रालय, सुरेन्द्र बहादुर पाल आर्थिक मामिला मन्त्रालय, कैलाश चौधरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वीरबहादुर थापा वन वातावरण तथा सहकारी मन्त्रालय, लक्ष्मी विक शिक्षा युवा तथा खेलकुद मन्त्रालय, टीका थापा कृषि तथा भूमि सुधार मन्त्रालय, ओमविक्रम भाट स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय, माया पन्त उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय, हिरा सार्की आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मन्त्रीमण्डल विस्तारसँगै अब सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ बहादुर सोडारी मुख्यमन्त्री रहनु भएको प्रदेश सरकार मन्त्रिमण्डलमा नेकपा एमालेका ३ जना, नेकपा माओवादी केन्द्रका ३ जना, नागरिक उन्मुक्तिका २ जना र एकीकृत समाजवादीमा १ जना मन्त्री सहभागी हुनु भएको छ ।

प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विभाजन गरेर ९ मन्त्रालय कायम गरेको छ । यहाँ ६ मन्त्रालय रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button