तपाईँ सुन्दै हुनुहुन्छः

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 

अछाम । अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । 

जिल्लाका दशवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । १६ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै प्रकारका (१३ किसिमका) खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताउनुभयो ।  

आगामी वर्षमा पनि जिल्लाका सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्ने, कसैलाई पनि नछुटाउने र खोपसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने जिल्ला स्वास्थ्य कार्यालयको लक्ष रहेको छ ।  घोषणा सभामा मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकाल, साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र कुँवर, चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउद, मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, पत्रकार मेनुका ढुङ्गाना लगायतले  पूर्ण खोप कार्यक्रमलाई अझै प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो  । 

अहिले बसाइ सराइ र भारत जाने प्रचलन बढी रहेकाले केही बालबालिकाहरू जन्मेको देखिने तर खोपमा छुटेको देखिने गरेको भन्दै यस तर्फ पनि सरोकारवाला सचेत हुनुपर्नेमा उहाँहरूको भनाइ थियो। सो अवसरमा जिल्लाका दशवटै स्थानीय तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न सङ्घसंस्था लगायतलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button