तपाईँ सुन्दै हुनुहुन्छः

‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ पुस्तक बिमोचन

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले प्रकाशन गरेको ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ पुस्तकको बिमोचन गरिएको छ ।

चौबिसे गाउँपालिकाको कार्यालय राजा-रानीमा मङ्गलवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राज कुमार चेम्जोङ लगायत अन्य अतिथिहरूले संयुक्तरुपमा पुस्तकको बिमोचन गर्नुभएका थिए । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) धनकुटाको समन्वय तथा बिनु चेम्जोङ लिम्बूको सम्पादनमा प्रकाशित पुस्तकमा चौबिसे थुमका दश वटा ऐतिहासिक, मुन्धुमिक एवम् पर्यटकीय स्थलहरूबारे १० जना विभिन्न लेखकका अनुसन्धान मूलक लेख संग्रहित छन् ।

फोनिज धनकुटाद्वारा आयोजित पुस्तक बिमोचन कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि, चौबिसे गाउँपालिकाका अध्यक्ष चेम्जोङले चौबिसे गाउँपालिकाका धेरै महत्वपूर्ण र ऐतिहासिक पक्षहरूलाई पुस्तकले उजागर गरेको बताउनुभयो । उहाँले छुटेका विषयहरूलाई आगामी संस्करणमा समेटेर पुस्तकलाई पूर्ण बनाउने पनि बताउनुभयो । 

कार्यक्रमका विशेष अतिथि, मुन्धुम र इतिहासका ज्ञाता अर्जुनबाबु माबुहाङले अहिले गाउँ बनाउने एजेण्डा कसैसँग नभएको बताउँदै गाउँठाउँमा रहेका ऐतिहासिक र मुन्धुमिक धरोहरहरू सङ्कटमा पर्दै गएका बताउनुभयो । तिनीहरूको गम्भीर ढङ्गको खोज र अनुसन्धानबाट गाउँको वास्तविक विकासको आधार तय गर्न सकिने बताउँदै यस किसिमका खोज–अनुसन्धानका काम अन्य पालिकाहरूले पनि गर्नुपर्ने बताउनुभयो । 

पुस्तकमाथि समीक्षात्मक टिप्पणी राख्दै टिप्पणीकार डा.कमल तिगेलाले चौबिसे थुमको विषयमा अध्ययन गर्न चाहने अनुसन्धाताहरूका लागि पुस्तक सहयोगी बन्ने बताउनुभयो । उहाँले केही महत्वपूर्ण विषय छुटेको उल्लेख गर्दै आगामी दिनमा त्यसलाई पूर्ण बनाउन आग्रह गर्नुभयो । अर्का टिप्पणीकार कोशी प्रदेश प्रहरी प्रमुख, डिआइजी चन्द्र कुबेर खापुङले पुस्तक आगामी दिनमा गरिने खोज–अनुसन्धानका लागि आधारशील बनेको बताउँदै चोबिसे गाउँपालिकाको यस कार्यलाई अन्य पालिकाहरूले अनुशरण गर्नुपर्ने बताउनुभयो । यद्यपि चौबिसे गाउँपालिकाको अध्ययन यतिले मात्र पूरा नहुने उहाँको सुझाव रहेको थियो । 

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का संघीय उपाध्यक्ष कमन देवान, प्रदेश अध्यक्ष सन्तवीर लामा, पुस्तकभित्र संग्रहित लेखहरूका लेखकहरूको तर्फबाट भीमा खजुम मुसुम र चौबिसे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहालले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) धनकुटाका अध्यक्ष तथा विमोचित पुस्तकका सम्पादक बिनु चेम्जोङ लिम्बूको अध्यक्षतामा सम्पन्न भएको उपाध्यक्ष मानवी तामाङले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button