तपाईँ सुन्दै हुनुहुन्छः

लुटेरासँग प्रतिकार गर्दा चारजना घाइते, लुटेरा समूहको खोजी गर्न प्रहरी परिचालन

मुगु । मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सा सङ्कलन गएको मौका छोपेर गाउँमा लुटपाट गर्ने समूहको खोजी कार्यलाई प्रहरीले तीव्र पारेको छ ।

प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार लुटेरा समूहको खोजीका लागि जुम्ला जिल्ला, डोल्पा जिल्ला र मुगु जिल्लाबाट प्रहरी खटिएका छन् । 

शनिवार साझ ५ बजे गाउँमा रहेका ५८ घर  मध्ये २३ घरमा वृद्धवृद्धा र बालबालिकालाई हतियार देखाउँदै लुटपाट गरी भागेको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनु भएको थियो । 

अध्यक्ष लामाका अनुसार लुटेराहरुले गाउँमा रहेका गुम्बाका पुजारीलाई कुटपिट गरेका थिए । समूहले लुटपाट गर्ने क्रममा प्रतिकार गर्न खोज्दा स्थानीय  ५३ वर्षीय दोर्जे तामाङ, २६ वर्षीया टोमा छोईङ तामाङ, १८ वर्षीया शान्ति तामाङ र १७ वर्षीय पेमा दोर्जे तामाङ घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि मुगु जिल्ला अस्पताल ल्याउने तयारी भए पनि घटना स्थल १२ घण्टा पैदल दुरी टाढा र  सञ्चार सुविधा पनि नभएकाले घाइतेहरूको उद्धार तथा उपचारमा कठिनाइ भएको छ ।

प्रहरीले स्थलगत रुपमा  लुटपाट भएको मालसामान, नगद र गरगहनाको एकिन तर्फ लागेकाले सबै लुटेको सामानको एकीकृत मूल्य ननिकाल्दासम्म लुटेराहरुले कति मूल्य बराबरको सर सामान गरगहना र नगद लुटे भन्न नसकिने पनि प्रनाउ थापाले बताउनु भयो । 

घटना शनिबार बेलुकी ५ बजेतिर भए पनि सञ्चार सम्पर्क नभएका कारण आइतबार बिहान मात्र प्रहरीले सूचना पाएको थियो ।  सूचना पाएपछि पुलु प्रहरी चौकीबाट प्रहरी आइतबार बेलुका घटनास्थलमा पुगेको हो । सीमा प्रहरी चौकी मुगुबाट पनि  प्रहरी त्यहाँ पुगेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button